काठमाडौं । बंगलादेशमा जारी पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको अन्तर्गत मंगलवार नेपालले ताजकिस्तानको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल नेपाली समयानुसार मंगलवार साँझ पौने ७ बजेपछि सिलेट जिल्ला रंगशालामा शुरु हुँदैछ । डिफेन्डिङ च्याम्पियन नेपालले आफ्नो समूहको पहिलो खेलमा ताजकिस्तानसँग भिड्न लागेको हो ।
यसअघि सन् २०१६ मा भएको प्रतियोगिताको चौंथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराउँदै उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले अन्तिम समयमा नेपालले यो प्रतियोगिता खेल्ने निश्चित भएपछि छोटो तयारीसँगै सहभागिता जनाएको बताएका थिए ।
‘‘नेपालले अन्तिम समयमा मात्र बंगबन्धु गोल्डकप खेल्ने तय भयो, त्यसैले हाम्रो खेलाडीहरुले धेरै समयको तयारी गर्नै पाएन, प्रतियोगितालाई मध्यनजरमा राख्दै ४-५ दिनको मात्रै तयारी गरेका छौँ’’ उनले भने ।
साथै, उनले नेपालले ताजकिस्तानसँग ‘एएफसी’ एशियन कपको छनोट चरणमा खेलेका अनुभव रहेको पनि बताए । ताजकिस्तानका खेलाडीहरु नेपाली टिमभन्दा शारीरिक, मानसिक र प्राविधिक रुपमा बलियो रहेको जानकारी दिए । तर, नेपाली टिमको राम्रो रणनीति भएकाले खेल आफ्नो पक्षमा समेत आउन सक्ने प्रशिक्षक महजर्नले बताए ।
साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको नेपालले समूहको दोस्रो खेलमा बलियो प्रतिद्धन्दी प्यालेस्टाइनको सामना गर्नेछ । फिफा बरियतामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गत वर्ष मात्रै दुई खेल खेलेको थियो ।
एएफसी एशियन कप छनोटको तेस्रो चरणमा नेपाल ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलले तथा ताजिकिस्तानको मैदानमा ३–० को हार बेहोरेको थियो ।
ताजकिस्तानविरुद्धको खेलमा नेपालका दुई महत्वपूर्ण खेलाडीहरु डिफेण्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङ अनुपस्थित छन् । रोहित इन्डोनेशिया र किरण माल्दिभ्सको लिग खेलमा व्यस्त भएका कारण उनीहरु दुवैले बंगबन्धु नखेल्ने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया