नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगको घोषणा गरेसँगै नेपालमा क्रिकेटको क्षेत्रले नयाँ अध्याय सुरु गर्ने अनुमान गरिएको छ । क्यानले नेपालमा पहिलो पटक असोज ८ देखि कात्तिक ५ गतेसम्म फ्रेन्चाइज लिग को आयोजना गर्दै छ । नेपालका ६ सहरका ६ टोलीको सहभागिता रहने यस प्रतियोगितामा सहभागी हुने चार टोलीको नाम र टिम मालिकको घोषणा भइसकेको छ । जसमा तीन टोलीको स्वामित्व विदेशी कम्पनीको नाममा रहेको छ ।
नेपालमा फ्रेन्चाइज लिग पहिलो पटक आयोजना हुन लागे पनि विश्वका अन्य धेरै मुलुकमा भने फ्रेन्चाइज लिग स्थापित चरणमै पुगिसकेको छ । नेपालको सन्दर्भमा क्यानलाई अहिले आन्तरिक र बाह्य कारणले गर्दा टी–२० लिगलाई स्थापित गराउन धेरै कठिन देखिन्छ । किनकि छिमेकी मुलुकहरूमा चर्चित भइसकेको फ्रेन्चाइज लिग नेपालमा आयोजना गर्नु, खेलाडी व्यवस्थापन गर्नु, लिलाममा चर्को मूल्य दिएर खेलाडी भित्र्याउनु, अन्तर्राष्ट्रिय चासो बढाउनु लगायतका कारणले तत्कालै सहज नहुने क्रिकेट विश्लेषकहरू बताउँछन् ।
फुकुवासँगै फ्रेन्चाइज लिगमाथि आक्रमण
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एसोसिएट राष्ट्रको मान्यता पाएको २८ वर्षमा क्यान पहिलो पटक २४ अप्रिल २०१६ मा प्रतिबन्धमा पर्यो ।
आइसिसीले क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र निर्वाचन गर्न नसकेको दुई कारण देखाउँदै निलम्बन गरेको थियो । निलम्बनमा परेको केही वर्ष बितेपछि २०७६ असोजमा काठमाडौँमा विशेष साधारण सभा गर्दै चतुर बहादुर चन्द नेतृत्वमा नयाँ कार्यसमिति गठन भयो । चन्दको कार्यसमितिलाई आइसिसीले मान्यता दिएर क्यानको निलम्बन सशर्त फुकुवा गर्यो ।
क्यान आइसिसीको निलम्बनमा पर्दा नेपाली क्रिकेटलाई जोगाइराख्न निजी क्षेत्रले फ्रेन्चाइज क्रिकेट लिगहरू आयोजना भए । एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग त्यो समयमा नेपाली क्रिकेटको क्रेज बढाउने चर्चित फ्रन्चाइज लिगहरू बने । पछिल्ला ४–५ वर्षयता यही लिगहरूले नेपाली क्रिकेटलाई धानेको थियो भन्दा अत्युक्ति नहोला । तर, क्यानले अब नेपाल टी–२० लिग भन्दा अरू लिग नेपालमा आयोजना गर्न नपाइने निर्णय गरेसँगै प्रतिबन्धको समयमा नेपाली क्रिकेटको विकासमा काम गरेका आयोजक, टिमहरू क्यानसँग रुष्ट बनेका छन् ।
क्यानमाथि प्रश्न !
नेपाल टी–२० लिग नेपाल क्रिकेट संघको एक मात्र आधिकारिक लिग भएको नेपाल क्रिकेट संघका अध्यक्ष अध्यक्ष चतुर बहादुर चन्द बताउँछन् । नेपाल टी–२० लिग आयोजनाका दृष्टिकोणले क्यान, खेलाडीदेखि सबै पक्षलाई हित हुने चन्द बताउँछन् । नेपाली क्रिकेट क्षेत्रको विकास र खेलाडीको हितमा भएको भन्दै चन्दले ‘सेभेन थ्री स्पोर्ट्स’सँगको सम्झौता स्वच्छ भएको समेत बताए ।
प्रत्येक वर्ष कुनै पनि लिग गराएबापत आइसिसीबाट क्यानले ४ करोड बिस लाख रुपैंया प्राप्त गर्ने भए पनि क्यानले प्रतियोगिता आयोजना गर्ने आँट नगरेको खेल विशलेषकहरु बताउँछन् । क्यान आफैँले टी–२० लिग किन आयोजना गर्न सकेन ? अरूलाई किन दियो ? भन्ने प्रश्नको सामना यति बेला क्यानले खेप्नुपरेको छ । सम्झौता भएको कम्पनीसँग क्यानले ८ वर्षका लागि रणनीतिक र कमर्सियल पार्टनरको रूपमा साथ लिएको छ । यसले नेपाली क्रिकेटलाई माथि उठाउन सहयोग पुर्याउने अध्यक्ष चन्दको दाबी छ ।
‘नेपाल क्रिकेट संघ सक्षम भएपछि आफैँले आयोजना गर्छौँ,’ भारतको आइपिएलको उदाहरण दिँदै उनले भने, ‘विगतमा विश्वको चर्चित फ्रेन्चाइज लिग आइपिएल पनि सुरुमा आपसी साझेदारीमै आयोजना भएको थियो । अहिले आइपिएल आफैँले आयोजना गर्न सक्ने भएको छ ।’ हामीले आफूलाई भारतको क्रिकेटसँग तुलना गर्छौँ । विगतको भारतले टी–२० लिग प्रतियोगिताका लागि जस्तो कदम चालेको थियो नेपालले पनि उस्तै ढाँचामा गर्न लागेको उनी बताउँछन् । ‘हाम्रो बजार साँघुरो छ । भारतको बजार ठुलो र अधिक हुने गरेको छ । अन्यत्र आयोजना हुने लिगमा समेत भारतीयको लगानी हुने गरेको छ,’ उनले भने । ‘यसो भनिरहँदा भारतीय कम्पनीसँग भएको सम्झौतामा गलत होइन । हामीले जो विज्ञ हो उसैसँग समझदारी गर्ने हो । भारतीय हुन् या पाकिस्तानी वा अमेरिकन हुन् । हामीले उनीहरूबाट केही सिक्ने हो ।’
यता, इपीएलको फ्रेन्चाइज क्लब चितवन टाइगर्सका मालिक किशोर भट्टराई क्यानको पछिल्लो व्यवहारबाट आफूहरू निराश भएको बताउँछन् । क्यानले यति ठुलो निर्णय लिने बेलामा फ्रेन्चाइज लिग सञ्चालन गर्दै आएका सरोकारवालासँग केही सल्लाह नै नगरेको उनको गुनासो छ ।
‘क्यानले यति ठुलो निर्णय गर्दा हामी सरोकारवालासँग केही सल्लाह गरेन,’ भट्टराईले आक्रोशित हुँदै सुनिए, ‘यदि त्यस्तो गर्ने हो भने भोलिका दिनमा निजी क्षेत्रले क्रिकेटमा लगानी किन गर्ने ?’
हिजो क्यान नरहँदा विभिन्न निजी क्षेत्रले लिगहरूको आयोजना गरे । यसले नेपाली क्रिकेटको साख बचाएको भट्टराई दाबी छ । ‘आइसिसीको निलम्बन फुकुवा भएपछि बाँकी लिगहरू बन्द गर्ने कुरा कत्तिको जायज हो ?,’ भट्टराई प्रति प्रश्न गर्दै भन्छन् । ‘लिगहरुको स्तर बढाउनुमा हाम्रो भूमिका छ, हामी यसमा तत्पर छौँ । विश्वकै पाँचौँ स्थानमा परेको ईपीएललाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो ।’
धरापमा लिग
क्यानले टी–२० लिगलाई एक मात्र लिग भनी रहँदा यसअघि आयोजना हुँदै आएका लिगको अस्तित्व धरापमा पर्ने देखिन्छ । यसअघि सञ्चालित लिगहरूलाई क्षेत्रीय स्तरमा मात्र आयोजना गर्न दिने तयारीमा क्यान लागेको छ ।
हाल नेपालमा व्यावसायिक खेलकुद ऐन नै बनेको छैन । यो ऐन नबनाई लिग सञ्चालन गर्दा भावी दिनमा विभिन्न समस्या निम्तिने खेलविज्ञहरु बताउँछन् । विगतका उदाहरणहरू हेर्ने हो भने विभिन्न लिगहरू संघलाई उकास्नका लागि भन्दा पनि कमाइ खाने भाँडो भइरहेको देख्न सकिन्छ । राजनीतिकरण र दाउपेचका कारण पनि लगानीकर्ताहरू अहिले लगानी गर्न धरमराउने अवस्था पुगेका छन् ।
क्यानको एउटा मात्रै लिग आयोजना गर्ने निर्णय स्वागत योग्य छ । किनभने छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने पनि आइपिएल खेल्न विश्वका खेलाडीहरू भारतको क्रिकेट क्लबमा आवद्धहुने गरेका छन् । आजको दिनमा आइपिएल विश्वकै चर्चित लिग बनेको छ । क्यानले पनि नेपाल टी–२० लिगको घोषणा गरेको छ । राम्रो व्यवस्थापन भएमा भोलिका दिनमा नेपालको लिग खेल्न विदेशी खेलाडीहरू नआउलान् भन्न सकिन्न ।
तर, क्यानका अगाडि चुनौतीको पहाड उभिएको छ । यसअघि भइरहेको लिगहरूलाई नासेर एउटा मात्रै लिग आयोजना गर्ने र भोलि नयाँ लिगले पनि गति नलिने हो भने नेपाली क्रिकेटको अस्तित्व खतरामा पर्न सक्ने खेल विश्लेषकहरूले बताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया