काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाणले शनिवार एक विद्यालय परियोजनाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा रहेको राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवनको राजदूत श्रीवास्तव र गृहमन्त्री खाणले उद्घाटन गरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेपाली रुपैयाँ २ दशमलव शून्य नौ करोडको लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायीक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डीया एट ७५’“आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५ सय ३२ भन्दा बढी उच्च प्रभाव सामुदायीक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४ सय ७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा संरचना रहेका छन् ।
भारत र नेपालबीच बहुआयामीक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गरेको र यी परियोजनाहरुको कार्यान्वयनले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार अझ बलियो बनाउन तथा समुदाय तहमा व्यक्तिको विकासमा योगदान पुर्याउन भारतले निरन्तर देखाउँदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया