यू–१९ एशिया कप क्रिकेटमा नेपालले सान्त्वना जीत

काठमाडौं । बंगलादेशमा भएको यू–१९ एशिया कप क्रिकेटमा नेपालले सान्त्वना जीत हात पारेको छ । 

यसअघि समूह चरणबाटै बाहिरिसकेको नेपालले समूहको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’लाई ३ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको हो । साभर जिल्ला मैदानमा मंगलवार भएको अन्तिम खेलमा युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले इनिङको ५ बल अगावै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि तृपराज दासले ६ तथा रित गौतमले १८ रनको योगदान दिए । कप्तान आसिफ शेख र सन्दीप जोराले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।  आसिफले ३५ रन जोडे । रोहितकुमार पौडेलले सन्दीप जोरासँग मिलेर ४९ रनको साझेदारी गरे ।

त्यस्तै,  सन्दीपले सर्वाधिक ६७ रन बनाउँदै पेभेलियनमा फर्किएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८  रनको योगफल तयार पारेको थियो ।

युएईका लागि फाहद नावाजले सर्वाधिक ८४ रन तथा अंश टण्डनले ६७ रनको योगदान दिए । नावाज र टण्डनले पहिलो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए । 

बलिङतर्फ नेपालका नन्दन यादव, रशिद खान र पवन सर्राफले समान २-२ विकेट लिएका थिए । यता सागर ढकाल र सोनु तामाङले युएईको १-१ लिन सफल भए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?