नचम्केका चकलेटी कलाकार !

काठमाडौं । चलचित्र ‘मंगलम’ पछि अभिनेता पुष्प खड्का फिल्ममा देखिएका छैनन् । बरु उनको अभिनय युट्युबमा देख्न पाइएको छ । प्रायः म्युजिक भिडियोमा दर्शकले उनलाई दोहो–याएर हेर्न पाएका छन् । अफर आएको फिल्म ‘छक्का पञ्जा ३’ को सानो भूमिकालाई ‘रिजेक्ट’ गरेपछि तत्कालका लागि पुष्पका हातमा खासै सिनेमा छैनन् । डेब्यु फिल्म ‘अझै पनि’ ले त पुष्पलाई खासै चिनाएको थिएन नै । दोस्रो फिल्म ‘दर्पण छायाँ’ ले धमाका मच्चाउन नसक्दा रिलिजअघि पाएको साख पनि गुमाए पुष्पले ।

पछिल्लो समय उनी अभिनित चलचित्र ‘मंगलम्’ ले राम्रै प्रतिक्रिया पायो । फिल्म औसत चले पनि पुष्पको अभिनयको तारिफ गरियो । यही फिल्मका निर्देशक नवल नेपालले पुष्पलाई दोहो–याएर अर्को सिनेमा बनाउने समाचार पनि मिडियामा छापिएका थिए । तर, त्यो प्रोजेक्ट पनि गुमनाम छ । साथै उनी अब फिल्म 'दाल, भात, तरकारी' मा देखिँदैछन् ।

म्युजिक भिडियोबाट फिल्ममा आएका पुष्प फेरि म्युजिक भिडियोमै सीमित भएका छन् ।

म्युजिक भिडियोमै रमाएका अर्का चकलेटी अनुहारका कलाकार हुन् पल शाह ।

पल शाहको चर्चा सेलाएको छैन । उनले कम्मर मर्काएका म्युजिक भिडियो युट्युबमा भेटिएकै हुन्छन् । यतिबेला पलका हातमा पनि फिल्म छैनन् । उनले अभिनय गरेको ‘शत्रु गते’ त वर्षकै राम्रो व्यापार गर्ने सिनेमाको सूचीमा पर्छ । तर, पल र आँचल शर्मालाई मात्र लिएर निर्माण गरिएका सिनेमालाई दर्शकले बाल दिएनन् । उनका फिल्मले हलमा क्रेज देखाउन सकेनन् । भलै पलले फिल्ममा लिएको यो ‘ग्याप’ का कारण सिनेमा चल्नसक्ने सम्भावना पनि छ ।

तर, फिल्मकर्मीले के समेत भन्न थालेका छन् भने पलका फ्यानले उनलाई युट्युबमै देख्न पाउँछन् भने किन हलसम्म धाउँछन् । एक निर्देशक भन्छन्, ‘पलमा सम्भावना नभएको होइन, तर उनले आफूलाई ‘फिल्टर’ गर्न सकेनन्, यो नै पलका लागि कमजोरी बन्यो ।’

यस्तै अर्का चकलेटी कलाकार आकाश श्रेष्ठलाई पनि सम्भावना बोकेका अभिनेता भनियो । केही फिल्ममा उनले आशालाग्दो अभिनय पनि गरे । केही समयअघि रिलिज भएको फिल्म ‘रामकहानी’

बाट उनले धमाका नै मच्चाउनेवाला छन् भन्ने समीक्षा गर्न थालिए । तर, जब ‘रामकहानी’ प्रदर्शनमा आयो । रामकहानीको अभिनयले उनलाई फेरि ‘हात्ती आयो, हात्ती आयो फुस्स’ बनाइदियो ।
यस्तै आशालाग्दा तर ‘हिट’ हुन नसकेका अभिनेतामा सारुक ताम्राकारलाई पनि लिने गरिन्छ ।

यी मात्र होइनन्, अहिले चकलेटी हिरोका फिल्म नचल्नेमा प्रदीप खड्का पनि मुछिन थालेका छन् । उनले अभिनय गरेका पछिल्ला दुई फिल्म ‘लिलिबिली’ र ‘रोज’ ले राम्रो व्यापार गर्न सकेनन् । भलै यसको कारण प्रदीप नभएर फिल्मको मेकिङ भएको धेरैले प्रतिक्रिया दिएका थिए । प्रदीपकै कारण दुवै फिल्म केही हेभी चाहिँ देखिएकै हुन् ।

चकलेटी अनुहारमाथिको भ्रम

एकथरी निर्माता निर्देशकलाई के भ्रम छ भने चकलेटी अनुहार राख्यो भने फिल्म ‘सुपरडुपर हिट’ हुन्छ । यही भ्रमले कैयन् निर्मातालाई सडकमा ल्याएको छ । केही निर्देशक तथा निर्माताहरु भने कथाअनुसार फिल्म निर्माण गरिरहेका हुन्छन् । निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै भनेका छन्, ‘निर्देशक ज्यू, जति मेहनत र खेल नयाँ मान्छेलाई चलचित्रमा लगानी लगाउन खर्चन्छौ, त्यति मेहनत र खेल चलचित्रको मेकिङ अनि विषयवस्तुमा खर्चिन्थ्यौ भने कमसेकम पैसा नउठे पनि आत्मसन्तुष्टि त मिल्थ्यो ।’

यी निर्माताको भँडास तिनै निर्देशकहरुका लागि हो, जो चकलेटी अनुहार भए फिल्म चल्छ भन्ने भ्रमबाट ग्रसित छन् या त निर्देशकले फिल्मलाई ‘भाँडाकुटी’ बुझिरहेका छन् ।

चकलेटी कलाकार प्रदीप खड्का यो स्वीकार्छन् कि, ‘फिल्म एउटा कलाकारका कारणले मात्र चल्ने होइन, पहिलो दिन हलसम्म दर्शक तान्न चलेका कलाकारको भूमिका रहे पनि फिल्म राम्रो बनाउन निर्देशककै हात हुन्छ, यो टीमवर्कको फल हो ।’

किन रुचाइएनन् चकलेटी कलाकार?

चकलेटी अनुहारले हलसम्म दर्शक तान्न सक्नुपर्ने थियो । तर नेपाली फिल्मको हकमा यस्तो देखिएको छैन । अनौपचारिक कुराकानीका सिलसिलामा चकलेटी कलाकारहरुले नै भन्ने गर्छन्, ‘हामीले मात्र गरेर हुने होइन नि, फिल्म आफैमा राम्रो बन्न सक्यो भने पो हाम्रो पनि क्रेज बढ्ने हो ।’

तर, नेपाली निर्देशकले मेकिङलाई खासै चासो नदिएको पाइन्छ । अर्कातिर जुन निर्देशकले फिल्म बुझेको छ र समाजलाई पनि फिल्म बुझाउन चाहन्छ, उसले ती चकलेटी अनुहारलाई छान्दैन । अभिनयमा ‘दख्खल’ भनिएकालाई लिएर फिल्म निर्माण गर्छ । यसको सीधा असर फिल्म हलमा देखिन्छ । फिल्म राम्रो त बन्छ तर दर्शकले पत्याइदिँदैनन् ।

यस्ता व्याप्त समस्याले फिल्म क्षेत्रमा खडेरी पारिदिएको छ । फिल्ममेकरले जबसम्म कलाकार र क्रेजको अन्तर्सम्बन्धलाई बुझ्न सक्दैनन्, तबसम्म न चकलेटी देखिने, दर्शकले थोरै भए पनि रुचाएका कलाकारको वृत्ति विकास हुन्छ, न त फिल्म क्षेत्रको नै विकास हुन्छ । पछिल्लो समयको सिनेमा बजारलाई फिल्मकर्मीबीचकै ‘इगो’ ले मास्न थालेको समीक्षकहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?