एमालेले भाबी प्रधानमन्त्रीमा ओलीलाई नै किन सार्यो अघि ?

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनलक्षित कार्यक्रममा होमिएको छ–नेकपा एमाले । बहुमत ल्याउने दाबीसहित निर्वाचनमा होमिएको एमालेले निर्वाचनपश्चात पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णयसमेत गरिसकेको छ ।

योसँगै, एमालेले अघिल्लो समानुपातिकलाई पुनः समानुपातिक सांसदमा नदोहोर्याउने, गत स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई केन्द्र र प्रदेशको उम्मेदवार नबनाउनेसहित टिकट र अवसरमा आलोपालो प्रणाली लागू गर्ने लगायतका चुनावी मापदण्ड तय गरेको छ ।

यो मापदण्डले पार्टीभित्र पनि वाहवाही पाइरहेको छ । एकपटक अवसर पाइसकेकालाई पुनः अवसर नदिने मापदण्ड राजनीतिमा पनि सराहनीय मान्न सकिन्छ । त्यो मापदण्ड तल्ला तहका कार्यकर्तादेखि सांसद बन्नेहरुलाई लागू भयो, तर प्रधानमन्त्रीको रुपमा अघि सरेका ओलीलाई भने किन लागू भएन ?

ओली प्रधानमन्त्रीको रुपमा दुई–दुई पटक अवसर पाइसकेका व्यक्ति हुन् । तैपनि, तेस्रोपटक प्रधानमन्त्री बनाउनका लागि पार्टीले नै निर्णय गर्नुले एमालेमाथि प्रश्न पक्कै उठ्छ ? के एमालेभित्र ओलीबाहेक प्रधानमन्त्रीमा योग्य व्यक्ति छैनन् ? एमाले वृत्तका युवा नेताहरु भने अहिलेको अवस्थामा ओली नै एमाले र देशको विकल्प रहेको तर्क गर्छन् ।

डा.भीमबहादुर रावल नेकपा एमालेभित्रको विद्रोही नेताको रुपमा परिचित छन् । गतवर्ष मंसिरमा चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका रावल अहिले पार्टीभित्रको प्रतिपक्षी नेताको रुपमा चिनिन्छन् ।

ओलीलाई प्रधानमन्त्रीको रुपमा किन अघि सारेको ? भन्ने लोकपथको प्रश्नमा उनी आफूलाई यो निर्णयबारे जानकारी नभएको बताउँछन् । यद्यपि, कुनैपनि दलले आफ्नो अध्यक्षलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नु कुनै नौलो कुरा नभएको उनको तर्क छ ।

‘कुनै दलले आफ्नो अध्यक्षलाई प्रधानमन्त्रीको रुपमा अघि सार्न सक्ने त्यो दलको अधिकार भयो । पटकपटक अवसर पाइसकेकालाई पुनः अघि सार्दा अरु नेताहरु छैनन् कि भन्ने प्रश्न उब्जिएको छ,’ उनी भन्छन्, ‘नेपालमा लामो समयदेखि हामीले यस्तै राजनीतिक संस्कारको सामना गरिरहेका छौँ जहाँ एकै व्यक्ति ५ पटक प्रधानमन्त्री हुँदा पनि पुनः अघि सारिने तयारी छ ।’

त्यस्तै, एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आगामी निर्वाचनको कमाण्डर र निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा ओलीलाई स्वीकार गरेर अघि बढेको तर्क गर्छन् । संसदीय राजनीतिमा पार्टी अध्यक्ष संसदीय दलको नेता भएर प्रधानमन्त्री बन्ने भएकाले ओलीलाई स्वीकार गरेर अघि बढेको उनको भनाई छ ।

आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि बढाउनुको कारण के ? भन्ने लोकपथको प्रश्नमा उनी भन्छन्, ‘प्रष्ट दृष्ट्रिकोण भएको, पार्टीको जिम्मेवार व्यक्ति ओलीलाई यो निर्वाचनमा कमाण्डर र आउने निर्वाचनपश्चात उहाँसँग प्रधानमन्त्री बन्ने हैसियत क्षमता सबै भएकाले अघि सारेका हौँ ।’

त्यसैगरी पार्टीभित्र पुस्तान्तरणको आवश्यकता भए पनि युवा उमेरले नभइ विचारले हुने तर्क नेम्वाङको छ । ‘देशभरका युवाहरुसँग उहाँको संगत रहेकाले युवाहरुको आकांक्षा र चाहनासँग ओली परिचित हुनुहुन्छ,’ नेम्वाङ भन्छन्, ‘उहाँ आउँदा युवाहरुको प्रतिनिधित्व हुनेछ ।’

एमाले सचिव समेत रहेका युवा नेता योगेशकुमार भट्टराईको पनि तर्क त्यस्तै छ । एमालेले ओलीलाई आगामी चुनावको कमाण्डर र निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा स्वीकार गरेर अघि बढ्नु स्वागतयोग्य रहेको भट्टराईको तर्क छ । यसअघिका नजिरका आधारमा पनि अध्यक्ष नै प्रधानमन्त्री बन्ने भएकाले ओलीलाई अघि सारिएको उनको जिकिर छ ।

‘उहाँ हाम्रो पार्टीको अध्यक्ष हो । यो चुनावको एमालेतर्फको मुख्य कमाण्डर उहाँ नै हो,’ उनले भने, ‘मुख्य कमाण्डर जो हुन्छ, पार्टीको नेता जो हुन्छ उसलाई नै प्रधानमन्त्रीको रुपमा सार्ने चलन छ । यही अन्तर्गत हामीले उहाँलाई अघि सारेको हो ।’

पुस्तान्तरणको बहस सबै पार्टीमा चल्नु राम्रो भए पनि नेताहरु पहिले पार्टी नेतृत्व र त्यसपछि मात्रै सरकारको नेतृत्वमा आउनुपर्ने उनको तर्क छ । अन्य दलहरुमा युवा नेताहरु नेतृत्वका लागि तयार हुँदा एमालेमा भने पुस्तान्तरणको बहस किन हुन सकेन भन्ने लोकपथको प्रश्नमा भट्टराई भन्छन्, ‘पहिले नयाँ मान्छेहरु पार्टी नेतृत्वमा आउनु पर्यो नि ।

अध्यक्षमा नै नआए पछि कसरी नेता हुने त ?,’ भट्टराई प्रश्न गर्छन्, ‘उहाँहरुले आधिकारिक निर्णय गरेर ल्याउन सक्नुहुन्छ त ? उहाँहरुले आधिकारिक निर्णय गरेर ल्याउनुभयो भने राम्रै हो । पार्टीले निर्णय गर्नुपर्यो नि, नत्र व्यक्तिगत चाहनाले मात्रै हुने कुरा पनि भएन ।’ एमालेका सचिव गोकर्ण विष्ट पनि अहिलेको चुनौतीलाई चिर्न सक्ने नेता ओली मात्रै रहेको दाबी गर्छन् ।

एमाले वृत्तबाट देशको वर्तमान चुनौती सामना गर्ने नेता ओली रहेको दाबी गर्दै उनी भन्छन्, ‘देश र जनताका सामुमा जस्ता गम्भीर चुनौतीहरु पैदा भएका छन्, ती चुनौतीहरुलाई सामना गर्न र आउँदा दिनहरुमा समृद्ध नेपाल र सुखी नेपाली को चाहनालाई पूरा गर्नका लागि हामीले हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर अघि बढ्न लागेका हौँ ।’

त्यसैगरी पुस्तान्तरण भन्ने विषयलाई राष्ट्रिय आवश्यक्ताका आधारमा गरिनुपर्ने तर्क गर्दैै नेता विष्ट अहिले सबै हिसाबले ओली त्यसको लागि समक्ष रहेको दाबी गर्छन् । यसअघिका निर्वाचनमा पनि पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने प्रावधान अनुसार नै एमालेले सो निर्णय गरेको नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना बताउँछिन् ।

दलीय व्यवस्थामा पार्टी अध्यक्ष नै राजकीय भूमिकामा जाने वा पठाउने नजिर रहेको तर्क गर्दै यसअघि नेकपा भएर निर्वाचन लड्दा प्रधानमन्त्रीको रुपमा कसैले अघि नसारिए पनि यो सामान्य प्रक्रिया रहेको उनको तर्क छ । ‘हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो ।

दलीय व्यवस्थामा पार्टीको अध्यक्ष नै राजकीय पदहरुमा जाने चलन रहेको छ,’ उनले भनिन्, ‘अहिले त घोषणा भयो, तर घोषणा नहुँदा पनि प्रधानमन्त्री पार्टी अध्यक्ष नै हुन्छन् । पार्टीहरुले विभिन्न रणनीतिअनुसार कहिले घोषणा गर्छन् कहिले गर्दैनन् ।’

लामो समयदेखि नेपाली राजनीतिमा एकै पुस्ताले मात्रै हैकम जमाएर बसेका कारण पुस्तान्तरणको आवाज व्यापक उठेको र पार्टीहरुले त्यसलाई आत्मसाथ गरेर जान नसकेको उनको तर्क छ । राजनीतिमा पुस्तान्तरणको बहस चले पनि व्यवहारिक रुपमा त्यो लागू हुन नसकेको स्वीकार गर्दै नेतृत्वमा पाको मान्छे आए पनि अन्य कमिटी र तल्लो तहमा युवाहरुलाई सारेर निर्वाचनमा गएमा त्यसले राम्रो परिणाम दिनसक्ने उनको भनाइ छ ।

‘अहिले आम रुपमा युवाहरुको माग पुस्तान्तर हुनुपर्छ भन्ने छ । नेपालमा एउटै पुस्ता लामो समयदेखि नेतृत्वमा छ,’ उनी भन्छिन्, ‘त्यो पुस्ताले धेरै सत्ताको धेरै तर मारिसक्यो, त्यसो हुनाले त्यस्तो किसिमको आवाज उठेको हो । पार्टीले प्रधानमन्त्रीको घोषणा गरेर यसमा केही बिग्रिएको छैन ।’

प्रधानमन्त्रीको रुपमा अनुभवी व्यक्तिलाई अघि सारेर अन्य ठाउँमा युवाहरुलाई अघि सार्ने हो भने युवाको प्रतिनिधित्व भएको मान्न सकिने उनको भनाइ छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महर केपी ओलीको भिजन जनताले मन पराएका कारण पार्टीले प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि सारेको तर्क गर्छन् ।

यसअघि ओलीले अघि सारेका योजनाहरुलाई पूरा गर्नका लागि ओलीलाई अघि सारिएको उनको भनाइ छ । ‘केपी ओलीको जुंगा, बोली र समग्र मान्छेमात्रै मन पराएर त्यस्तो निर्णय गरिएको होइन,’ महर भन्छन्, ‘जनताको अहिलेको आकांक्षा भनेको सुुखी नेपाली समृद्ध नेपाल बनाउनु हो ।’

त्यसकारण अहिले एमाले वृत्तबाट त्यो आकांक्षा पूरा गर्न सक्ने नेता केपी ओली मात्र देखेर नै सो निर्णय गरिएको उनको विश्लेषण छ । पुस्ता हस्तान्तरणको विषय सुन्दा आनन्द लाग्ने भन्दै युवा उमेरको आधारमा नभइ एजेण्डाको आधारमा हुनुपर्ने उनको तर्क छ ।

‘पुस्तान्तरणको बहस हेर्दा र सुन्दा राम्रो लाग्छ तर, त्यो भावनात्मक कुरा मात्र हुन्,’ उनी भन्छन्, ‘पुस्तान्तरण पनि गर्नुपर्छ आवश्यक्ता अनुसार तर, युवा भन्ने कुरा चाँही उमेरको नम्बरले होइन, सोचले विचारले युवा हुने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?