सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ र मानेखर्कमा कुनै समय प्रत्येक घरधुरीमा श्यामा ( तान ) बुन्ने गरिन्थ्यो । अहिले दुई/चार घरमा मात्र ५५ वर्ष उमेर पार गरेका महिलाहरुले श्यामा बुनेर आफ्नो दैनिकी चलाउने गरेका छन् ।
तामाङ र ह्योल्मो समुदायका महिलाहरुले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर, अहिलेका पुस्ताहरुले बुन्न छाडेपछि श्यामा मुस्किलले मात्र पाउन थालेको छ ।
मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले श्यामा बुनेर दैनिक २ हजार २ सय कमाइ गर्छिन् । १६ वर्षको उमेर हुँदा श्यामा (तान) बुन्न थालेकी उनले अहिलेसम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आएकी छिन् । उनी भन्छिन्, ‘अहिले हामी तीन/चारजना महिलाहरुले मात्र तान बुन्ने गरेका छौँ । बजारमा यसको माग धेरै भए पनि हामीले पुर्याउन सकेका छैनौँ । बुन्नुभन्दा अगाडि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’
सुरुवातमा बुनेर बेच्दा यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि २ हजार २ सय रुपैयाँसम्म पर्छ । उनीहरुलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर, हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको ग्याल्मु लामाले बताए ।
आम्दानीको राम्रो स्रोत
एक पल्टको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एक जनाले एक वा दुई वटासम्म बुन्न सकिन्छ । १२ वटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने उद्यमी बताउँछन् ।
त्यस्तै यस कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन पनि प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउँछन् । तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उनको भनाइ छ ।
७३ वर्षीय नोर्चिन लामा पनि लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै पहिलाभन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो रहेको बताउँछन् । ‘यसको माग पनि राम्रो छ । तर, अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ ।
बल हुन्जेलसम्म तान बुनेर जिविकोपार्जन गरेँ । तर, अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उनी भन्छिन्, ‘हामी वृद्व भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ ।’
तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङसम्म बेच्न गएको उनले बताए । पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा घरमै अर्डर गर्न आउँथे ।
यहाँ बनेर तयार गरिएको श्यामा श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेका थिए । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आम्दानीसँगै श्यामा व्यवसायको संरक्षण हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया