काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत म्यान्मारले नेपालसामु ३० रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यान्मारले १० ओभरमा सबै विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो ।
म्यान्मारका लागि लिन वाङगले सबैभन्दा बढी १६ रन जोडे । उनले २० बलमा मात्र २ चौका प्रहार गर्दै पेभेलियनमा फर्किए । ओपनर ब्याट्सम्यान केके लिन थु मात्र ४ रन बनाएर आउट भए । अर्का ओपनर ब्याट्सम्यान खिन ए शुन्य रनमा आउट भए । नाइङ तुन र थुया वाङले समान ३-३ रन जोडे ।
म्यान्मारको पारी ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले ३ तथा करण केशी र ललितसिंह भण्डारीले समान १-१ विकेट लिएका थिए ।
सन् २००६ पछि नेपालले पहिलो पटक म्यान्मारसँग आमने-सामने भएको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया