काठमाडौं । इस्टर्न हाइड्रोपावरले आईपीओमा आवेदन दिन म्याद पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्याएको छ ।
कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।
यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल अनुमानित लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया