काठमाडौं । नेपाल भलिबल संघले आगामी चार वर्षका लागि बुधवार चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दैछ ।
नवौं साधारण सभाबाट नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साधारण सभाबाट आउँदो चार वर्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्दबीच नेतृत्वका लागि प्रतिष्पर्धा हुने भएको छ ।
दुवैले यसअघि विभिन्न छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका थिए । यस्तै, मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दा रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लव ढोरपाटन क्लवका संस्थापक हुन् भने, कार्यसमिति सदस्य श्रेष्ठले भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गर्दै आएका छन् ।
कोभिड र नयाँ ऐनका कारण भलिबल संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो । तत्कालीन समयमा १३ औं साग गेम्स तथा त्यसपछि कोभिड र राष्ट्रिय खेलकुद विकास ऐनका कारण समयमै संघको चुनावी साधारण सभा हुन सकेको थिएन । साधारण सभाको निर्वाचन प्रक्रिया समेत बुधवार नै अघि बढाउने तयारी छ ।
संघको केन्द्रीय निर्वाचनमा १ सय ३१ जना मतदाता रहेका छन् । विवादका कारण वागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश नगरिने संघले जनाएको छ । वर्तमान कार्यसमिति, ७७ जिल्ला, प्रत्येक प्रदेशबाट दुई जना, रेफ्री, खेलाडी र क्लब गरी १ सय ३१ जनाले बुधवारको निर्वाचनमा मतदान गर्दैछन् ।
यसपटक ३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र १० सदस्य गरी २५ जना निर्वाचित हुनेछन् । बाँकी १४ मध्ये १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । १ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।
साधारण सभावको उद्घान युवा तथा खेलकुद मन्त्रीले गरे । उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अन्तर्राष्ट्रिय स्तरको भलिबल नेपालमा आयोजना सम्पन्न हुनसक्छ भन्ने आधार बनाउन यो आर्थिक वर्षभित्र काम हुने बताए ।
मन्त्री गहतराजले पूर्वाधार अवधारणा अन्तर्गत एक विद्यालय एक पूर्वाधार र एक पालिका एक खेल ग्राम भन्ने लक्ष्य प्राप्तका लागि सरकारले काम गरिहेको बताए । राष्ट्रिय खेल भएता पनि प्राथमिकतामा नपरेको भन्दै यो आर्थिक वर्षमा भलिबलको आफ्नै कोर्ट बनाउन सरकारले योजना ल्याउन लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया