लमजुङ । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो । अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । वरपिपलका चौतारी अहिले विकासका नाममा उखेल्ने काम भएका छन् । एउटा संरचना निर्माण गर्दा अर्को संरचना भत्काउन नपाउने नियम छ । तर, यो नियम कहीँ पालना भएको छैन ।
भारी बोक्ने भरिया, बाटो हिँड्ने बटुवा, यात्रा गर्ने यात्रीको थकाई मार्ने साझा थलो हो चौतारी । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला । १०/१५ वर्ष अगाडि बाटोमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् ।
यात्रु तथा वटुवा दिनभर हिँडेपछि थकाई लाग्दा चौतारीमा सुस्ताउँथे र साँझ गन्तव्यमा पुग्न नसक्दा पौवामा बास बस्दथे । यो कुरा आजका नयाँ पुस्तालाई कथा हुन पुगेको छ । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय बेसीशहर– ८ निवासी बृखबहादुर पौडेलले बताए । बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गेधारा आज देख्न मुस्किल परेको छ ।
पश्चिम लमजुङको जितामा ७ वटा ढुङ्गेधारा थिए । यही ढुङ्गेधाराबाटै त्यस आसपास क्षेत्रको नाम जिता सातधारे चर्चित बन्न पुगेको जिता सातधारे निवासी देवेन्द्र पौडेलले बताए । बाटो हिँड्दा पानी पर्दा घामले पोल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् ।
पहिला धर्म कर्म कमाउन भनी चौतारा बनाउने चलन थियो । चौतारा बनाएपछि त्यहाँ पोखरी पनि अनिवार्य बनाउनै पथ्र्यो र खानेपानीको धारा समेत राख्न चलन थियो । अहिले चौतारा कही कही भएपनि पोखरी भने भेटिँदैन । अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् ।
हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवर्द्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । ग्रामिण पर्यटनका लागि महत्वपूर्ण मानिने ढुङ्गेधारा, चौतारी, पाटी–पौवा, पोखरी नै हुन् । यिनको अभावमा गाउँ फिका सावित हुन्छ । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । हाम्रा बाउबाजेले स्थापना गरेका सिम्पानीको ऐतिहासिक चौतारा छ ।
नजिकै पोखरी पनि थियो त्यहाँ त अर्कै संरचना बनिसकेको छ । फेरि पनि यी सङ्कटमा परेका संरचनाको पुनः निर्माण तथा जीर्णोद्वार गरेर संरक्षण गर्ने योजना बनाउन लागेका छौं भन्छ्न् मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानीका अध्यक्ष हरिश्चन्द्र थापा । भलाम सेराको घुमाउने चौतारा, बेसीशहर मनाङे चौतारा, विदाइ चौतारा, सेरा चौतारा, इतिहास बोकेका चौतारा हुन् ।
आज यी इतिहास बोकेका संरचना सङ्कटमा परेका छन् । यिनको संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातावरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको स्थानीय बृखबहादुर पौडेल बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया