काठमाडाैं । कुन पार्टीबाट कसले टिकट पाउला ? यतिबेला राजनीतिक वृत्तमा छाएको सबैभन्दा चासोको विषय यही नै हो । त्यसो त क्षेत्रीय स्तरबाट सिफारिस गर्नेदेखि शीर्ष नेताको दैलो धाउने काम नेताहरुले सुरु गरिसके । निर्माण व्यवसायी अर्थात् ठेकेदारी पृष्ठभूमीबाट राजनीतिमा उदाएका व्यक्तिहरु पनि यही मेलोमा छन् । प्रत्यक्ष तथा समानुपातिक टिकटको दाबी गर्र्दै केही ठेकेदारहरु पुनः चुनाव जितेर संसद छिर्ने र कोही हारको बदला लिने दाउमा छन् ।
यद्यपि, निर्माण व्यवसायीहरुले उम्मेदवारी दाबी गर्नु र सांसद बन्नु नेपाली राजनीतिक आकाशका लागि भने कुनै नौलो कुरा होइन । विकास निर्माणको कामलाई अलपत्र पार्दै छवी बिगारेका केही निर्माण व्यवसायीहरुले ०७४ को निर्वाचनमा संसदको ढोका उघारे । केही पराजित भए ।
०७४ को आमनिर्वाचनमा प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा १८ जना निर्माण व्यवसायी सांसद बनेका थिए । साथै, दर्जन बढी व्यवसायीले हार व्यहोरेका थिए । यसपाली पनि तिनै अनुहारले निरन्तरता पाउने छाँटकाँट दलभित्र देखिन्छ । साथै, गत निर्वाचनमा समानुपातिकबाट सांसद बनेकाहरु पनि यसपाली प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् ।
कांग्रेस र एमालेले ०७४ को निर्वाचनबाट समानुपातिक सांसद भएकालाई पुनः नदोहोर्याउने मापदण्ड अपनाएका छन् । त्यसैले केही सांसदलाई प्रत्यक्षतर्फ निर्वाचन लड्नैपर्ने बाध्यता छ । त्यसमाथि पनि पैसाकै बलमा सांसद बनेका निर्माण व्यवसायीहरुलाई भने पार्टीको यो निर्णयले संकटमा पारेको छ ।
०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका बहादुरसिंह लामा आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारीमा छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी नुवाकोट–३ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । यद्यपि, नुवाकोट दुईवटा निर्वाचनमात्र क्षेत्र कायम भएसँगै आन्तरिक सन्तुलन मिलाउनका लागि ०७४ मा उनलाई समानुपातिकमा राखिएको थियो । यसपाली भने उनी नुवाकोट–२ बाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा छन् । उसो त क्षेत्रीय कार्यसमितिले केही दिनअघि उनको नाम पहिलो नम्बरमा सिफारिस गरिसकेको छ ।
हिमदुङ एण्ड थोकर कम्पनीका मालिक रहेका लामा हाल संसदको विकास तथा प्रविधि समितिका सदस्यसमेत हुन् । उनले ताकेको नुवाकोट–२ कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको क्षेत्र हो । ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसँग पराजित केसीलाई भने क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ सिफारिस गरेको छ ।
त्यस्तै, प्रतिनिधि सभा सदस्य तथा कांग्रेसका नेता मोहन आचार्यको पृष्ठभूमी पनि निर्माण व्यवसायी नै हो । आचार्य रसुवा कन्स्ट्रक्सन प्रा.लिका मालिक हुन् । इन्जिनियरसमेत रहेका आचार्यसँग सडक, पुल र अस्पतालसहितका पूर्वाधार निर्माण गरेको अनुभव छ ।
उनी ०७४ को निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद हुन् । आगामी निर्वाचनमा पनि प्रत्यक्षतर्फ निर्वाचन लड्ने तयारीमा रहेको आचार्यले बताए । क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनको एकल नाम सिफारिस गरेको छ । ‘क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मेरोमात्र नाम सिफारिस गरेको छ अब गठबन्धनको निर्णयको पर्खाइमा छु,’ लोकपथसँग उनले भने ।
यद्यपी, यो पाँच वर्षको अवधिमा रसुवामा जनमुखी काम गरेकाले आफू टिकट पाउनेमा ढुक्क रहेको उनी सुनाउँछन् । ‘मैले चुनावमा प्रतिवद्धता गरेका अधिकांश काम गरेका छु जसमध्ये गोसाईकुण्ड जाने बाटो र नौकुण्ड खानेपानी आयोजनाको काम पनि अघि बढिसकेको छ,’ उनले भने, ‘खानेपानी आयोजना सम्पन्न हुँदा रसुवाका झण्डै ४०/५० हजार मानिस लाभान्वित हुन्छन् जसका लागि बजेटसमेत विनियोजन भसकेको छ ।’
आचार्यले ०७४ को निर्वाचनमा एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए । ढकालपनि एमालेभित्रका चर्चित निर्माण व्यवसायी हुन् । तर, चुनाव लड्ने कि नलड्ने भन्नेबारे पर्ख र हेरको अवस्थामा रहेको ढकाल बताउँछन् । ‘यसपाली चुनाव लड्ने मनस्थितिमा छैन तैपनि कार्यदलको बैठकले के गर्छ त्यसपछि परिस्थिति हेरेर निर्णय लिनेछु,’ उनले भने ।
साथै, पछिल्लो समय रसुवाको निर्वाचन निकै खर्चिलो भएकाले पनि निर्वाचन लड्न जाँगर नचलेको ढकाल बताउँछन् । ‘रसुवाको निर्वाचन निकै महंगो भइसकेको छ,’ लोकपथसँगको कुराकानीमा उनले भने, ‘यसपाली सोचविचार गरेरमात्र चुनाव लड्ने मनस्थितिमा छु ।’
त्यस्तै, ठेक्कापट्टा क्षेत्रका व्यवसायी कांग्रेसका दिलमान पाख्रिन पनि धादिङ–२ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार एमालेका खेमप्रसाद लोहनीसँग थोरै मतान्तरले पराजित भएका पाख्रिन यसपाली बदला लिने दाउमा छन् । कांग्रेस धादिङ–२ नम्बर क्षेत्रीय कार्यसमितिले उनको नाम पहिलो नम्बरमा सिफारिस गरिसकेको छ । उनीसँग सो क्षेत्रका रमेश धमला, रामनाथ अधिकारी, डा. राजाराम कार्की, गंगाराम तामाङको नामसमेत सिफारिस भएको छ ।
रामेछापका कांग्रेस जिल्ला सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि यसपाली संसद छिर्ने दाउमा छन् । कन्चराम कन्स्ट्रक्सनका मालिक समेत रहेका तामाङ ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । यसपाली जित आफ्नो पोल्टामा ल्याउने कसरतमा तामाङ छन् । जिल्ला कार्यसमितिले उनको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरेको छ । ‘नाम सिफारिस भएको छ पार्टीले टिकट दिएको अवस्थामा चुनाव लड्ने तयारीमै छु,’ उनले भने ।
निर्माण क्षेत्रका अर्का भेट्रान व्यवसायी तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे । यसपाली जसरी पनि संसद छिर्ने कसरतमा छन् ।
पाण्डे राप्रपाको तर्फबाट ०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग पराजित भएका थिए । यद्यपि, यसपाली भने पाण्डेले चितवन १ नम्बरबाट उम्मेदवारी दिने चर्चा छ । यद्यपि, पार्टीको निर्णयलाई कुरिरहेको पाण्डे बताउँछन् । ‘पार्टीको निर्णयलाई कुरिरहेको छु,’ उनले भने, ‘पार्टीले कसलाई कहाँबाट उठाउने निर्णय गर्छ त्यहीँ चुनाव लड्नेछु ।’ यद्यपी, पाण्डे निर्माणका क्षेत्रमा विवादित पात्र हुन् । राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै ०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी माथि विशेष अदालतमा मुद्धा दायर गरेको थियो । यद्यपि, उक्त मुद्धामा उनलाई अदालतले सफाइ दिएको छ ।
कुशेश्वर कन्स्ट्रक्सनका मालिक तथा कांग्रेस जिल्ला सभापति तीर्थ लामा काभ्रे–१ बाट प्रतिनिधिसभामा उठ्ने तयारीमा छन् । ०७४ को निर्वाचनमा लामा बाम गठबन्धनतर्फका उम्मेदवार माओवादीका गंगाबहादुर तामाङसँग झण्डै ४ हजार मतान्तरले पराजित भएका थिए । सभापति लामालाई प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले काभ्रे–१ को प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ । लामा संविधान सभा सदस्यसमेत हुन् ।
यस्तै, आगामी निर्वाचनको दौडमा रहेका अर्का व्यवसायी एवं कांग्रेस नेता हुन्, अछामका भरतकुमार स्वाँर । ०७४ को निर्वाचनमा एमालेका भीम रावलसँग झण्डै ६ हजार मतान्तरले पराजित भएका स्वाँर यसपाली सोही क्षेत्रबाट चुनाव उठ्ने तयारीमा छन् । उनलाई प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
निर्माण व्यवसायी तथा पूर्व श्रम राज्यमन्त्रीसमेत रहेका टेकबहादुर गुरुङ पनि आगामी निर्वाचनको रस्साकस्सीमा लागिसकेका छन् । उनी मनाङबाट प्रतिनिधि सभामा भिड्ने तयारीमा छन् । ०७४ को निर्वाचनमा मनाङबाट बाम गठबन्धनतर्फका उम्मेदवार एमालेका पाल्देन छेपाङ गुरुङसँग १ सय ७९ मतान्तरले पराजित भएका उनी अब संसद छिर्ने दौडमा छन् । उसो त नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ उनको नाम सर्वसम्मत सिफारिस गरेको छ । यद्यपी, गुरुङको व्यावसायिक छबी भने गतिलो छैन । काठमाडौं फनपार्क मेला सञ्चालकसमेत रहेका गुरुङले फनपार्कको जग्गा भाडामा लिने क्रममा अनियमितता गरेको भन्दै अख्तियारको मुद्दा छ । उनीसहित १४ जना विरुद्ध २१ माघ ०७५ मा मुद्दा दायर भएको थियो । उक्त मुद्दा हाल विशेष र काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
यता हिमाली निर्माण सेवा निर्माण कम्पनीका मालिक तथा सांसद धनबहादुर बुढा फेरि पनि संसद छिर्ने मनस्थितिमा छन् । यसअघि बाम गठबन्धनमा एमालेको तर्फबाट निर्वाचित बुढा हाल एकीकृत समाजवादीमा छन् । डोल्पा जिल्ला कमिटिले बुढालाई संघमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । बुढा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्रीसमेत हुन् ।
जसले सांसद नबन्ने घोषणा गरे
०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका जीपछिरिङ लामाले भने यसपाली निर्वाचन नलड्ने घोषणा गरेका छन् । ‘दुईपटक सांसद भइसकेँ पार्टीको केन्द्रीय सदस्य छँदैछु त्यसैले अब चुनाव उठ्दिनँ,’ लोकपथसँगको कुराकानीमा लामाले भने, ‘नयाँ पुस्तालाई पनि अवसर दिनुपर्छ मैले त्याग गरेको हुँ ।’
राजनीतिमा त्याग र समर्पण निकै महत्वपूर्ण कुरा हो । त्यसैले सँधै एउटामात्र व्यक्ति अघि बढिरहँदा नेता कार्यकर्ता वितृष्णा उत्पन्न हुने हुँदा यसपाली अरुलाई सहयोग गर्ने मनस्थितिमा पुगेको उनले बताए । ‘चुनावमा उठेँ भने अहिले पनि जित्छु तर, सधैं एउटै व्यक्ति हुनुपर्छ भन्ने राजनीतिक संस्कार होइन,’ उनी भन्दै थिए, ‘मेरो त्यागलाई देखेर अरु साथीहरुले पनि सिको गरुन् भनेर पनि यसपाली चुनाव नउठ्ने निधो गरेको हुँ ।’ लामा कन्सट्रक्सनका मालिक रहेका उनी हाल संसदको विकास तथा प्रविधि समितिका सदस्यसमेत रहेका छन् ।
एमाले सांसद प्रेमप्रसाद तुलाचनको पृष्ठभूमि पनि निर्माण व्यवसायी नै हो । ०७४ को निर्वाचनमा मुस्ताङबाट विजयी भएका तुलाचन यसपाली भने चुनाव नलड्ने मनस्थितिमा छन् । निर्माण कम्पनी अमित बिल्डर्सका सञ्चालकसमेत रहेका तुलाचन उमेरले पनि नेटो काटेको र स्वास्थ्यमा पनि समस्या देखिएकाले उम्मेदवारीमा आफ्नाे दाबी नरहेको बताउँछन् । ‘६२ वर्ष पुगेछु, मधुमेहको बिरामी पनि छु समयमा खाने, सुत्ने गर्नुपर्छ,’ उनी भन्दै थिए, ‘सँधै एउटा व्यक्तिमात्र भन्दा पनि नयाँ पुस्ताले पनि अवसर पाउनुपर्छ भनेर यसपाली मैले दाबी नगरेको हुँ ।’
यद्यपि, जिल्लाका नेता तथा कार्यकर्ताहरुले भने आफूलाई उम्मेदवार बन्नका लागि दबाब दिइरहेको बताउँछन् । ‘जिल्लामा साथीहरुले तपाईंबाहेक अर्को विकल्प छैन भन्नुभएको छ,’ उनले भने, ‘तर, मैले आफ्नो दाबी नरहेको घोषणा गरिसकेँ ।’
तुलाचन ०७४ भन्दा अघि नेपाली कांग्रेसमा आवद्ध थिए । २०७० को निर्वाचनमा कांग्रेसका रोमी गौचनविरुद्ध बागी उम्मेदवार बनेका उनी १२ मतले पराजित भए । त्यसपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । त्यही झोंकमा तुलाचन २०७४ मा एमाले प्रवेश गरेका थिए ।
यी त प्रतिनिधि सभामा लड्दै गरेको अनुहार मात्र हो । प्रदेश सभाको लागि टिकटका दाबी गर्ने निर्माण व्यवसायी दुई दर्जनभन्दा बढी छन् । यसरी कुनै पनि व्यापार व्यावसायमा आवद्ध व्यक्ति राजनीतिमा प्रवेश गरी नीति निर्माण तहमा पुग्ने दौडधुपमा लाग्दा त्यहाँभित्र स्वार्थको द्वन्द उत्पन्न हुने सैद्धान्तिक मान्यता छ । त्यो स्वार्थको द्वन्द भनेको भ्रष्टाचारको स्वरुप हो । यद्यपी, नेपालमा यो द्वन्दलाई राजनीतिक प्रणालीले समेत स्वीकार गरिसकेको अवस्था छ ।
साथै, संसदको महत्वपूर्ण समितिमा समेत यिनै निर्माण व्यवसायीहरुको हालिमुहाली छ । संसदको विकास तथा प्रविधि समितिमा समानुपातिकबाट सांसद बनेका बहादुरसिंह, जिपछिरिङ सदस्य छन् । यो समितिमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा सांसद हरिनारायण रौनियार पनि थिए । यद्यपी, पप्पुले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियारमाथि मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परे । उनीमाथि विशेष अदालतले गत वैशाख २५ गते साँढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
संसदको विकास समितिले भौतिक पूर्वाधारका साथै सहरी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका विषय हेर्छ । तर, यिनै समितिमा ठेकेदार पृष्ठभूमीबाट आएका नेता सामेल हुँदा त्यहाँ स्वार्थको द्वन्द सिर्जना नहोला भन्न सकिन्न ।
महंगो बन्दै निर्वाचन
निर्वाचन आयोगका पूर्व आयुक्त अयोधिप्रसाद यादव पछिल्लो समय निर्वाचन प्रणाली महंगो बन्दै गएकाले राजनीतिमा पैसा भएका व्यक्तिहरु अर्थात् ठेकेदार, व्यवसायीहरुको चलखेल बढ्न थालेको बताउँछन् । त्यसका लागि राजनीतिक दलको संगठनले नै पैसावालाहरुलाई पार्टीभित्र भित्राउने र संसद छिराउने बाटो खुला गरेको उनको भनाई छ ।
‘राजनीतिक दलको संगठनमा आवद्ध हुन कसैलाई पनि बन्देज छैन त्यसैले ऊ पहिला पार्टीमा प्रवेश गर्छ,’ उनले भने, ‘पार्टीमा काम गरेको व्यक्तिले निर्वाचनमा उम्मेदवार हुने अधिकार पनि राख्छ ।’
यद्यपी, यस्ता व्यक्तिहरुको संलग्नताले निर्वाचन महंगो हुँदा असल, इमान्दार र निष्ठावान व्यक्तिले उम्मेदवार बन्छु भन्न नै धेरै सोच्नुपर्ने अवस्था छ । ‘राजनीतिक सत्ता प्राप्तिका लागि गरिन्छ,’ यादव भन्छन्, ‘चुनावपछि आफ्नो पार्टीको सरकार बनाउनका लागि धेरै सिट चाहिन्छ त्यसका लागि जसले मतदातालाई प्रभावित पार्न सक्छ पार्टीले पनि उसैलाई टिकट दिने परिपाटी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया