काठमाडौं । विश्व उमा कुङफु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली युकेको अर्चोस्टर प्रस्थान गरेका छन् ।
यहि अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् । कमलले तीन स्पर्धा मोङकी बक्सिङ, नाइन स्टिक्स र किक बक्सिङमा सहभागिता जनाउने छन् । मुन्नीले ताइची स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
मुन्नी गत सेप्टेम्बरमा जर्मनीमा सम्पन्न १२ औं विश्व मार्सल आर्ट च्याम्पियनसिपकी कांस्य विजेता हुन् ।
अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने तथा टिम व्यवस्थापकमा नेपाल उमा कुङफु संघका सदस्य अशोक केसी रहेका छन् ।
प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । टोलीलाई अध्यक्ष लामासहित संघका पूर्व अध्यक्ष उद्धव थापा मगर, उपाध्यक्ष सन्जित राई, कोषाध्यक्ष सुकमान लामालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया