जर्जिया । जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको हो ।
नवौं चरणको खेल जितेपछि नेपालले १० अंक बनाएको छ । समूह ‘डी’ मा रहेको नेपाल दोस्रो स्थानमा छ । समान १० अंक बनाएको दक्षिण कोरिया शिर्ष र श्रीलंका तेस्रो स्थानमा छन् । ३० देश सहभागी यस समूहमा बाँकी दुई खेलमा सफलता हात पारेका नेपालले पदक जित्नेछ ।
नवौं चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्राक कान्टीन्टीलाई हराए । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए।
हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौं चरणमा नेपालले बलियो चिलीसँग प्रतिस्पर्धा गर्नेछ । बरियतामा ४९ औं स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल एक सय १८ औँ स्थानमा छ ।
यसैगरी महिलातर्फ नवौं चरणको खेलमा नेपाल ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । शुसिला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौं चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया