विराटनगरमा ४ सय ७५ रुपैयाँ पर्ने जुत्ता मूल्य ३ हजार ९ सय

मोरङ । विराटनगरका पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा रेडिमेट सामग्री बिक्री गर्ने पसलले ९ गुणसम्म मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो ।

खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४ सय ७५ रुपैयाँ खरिद मूल्य रहेको जुत्ता ३ हजार ९ सयसम्ममा बिक्री भएको पाइएको जिल्ला अधिकारी पाण्डे बताए । 

विराटनगर मेनरोडमा सञ्चालित ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३ हजार ९ सय र साकेत ट्रेडर्सले ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ता १५८५ रुपैयाँमा बिक्री गरेको पाइएको हो ।

वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालका अनुसार अनुगमनका क्रममा ग्यालेक्सी मार्टले ४ सय ५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मूल्य १ हजार ३ सय ७५ राखेर बिक्री गरेको पाइएको छ । त्यस्तै साकेतमा पनि ४ सय पर्ने पाइन्टमा १ हजार ३ सय बिक्रीदर टाँस गरेको भेटिएको छ ।

चर्को मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेका व्यापारीहरुलाई कागजपत्रसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?