काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरु भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व्यवसायीहरुले गरेका छन् । एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गरे ।
उनले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उनको भनाइ छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरै भन्दा धेरै रोजगारी सिर्जना हुने उनले बताए ।
उनले भने– ‘सुविधाको खाँचो छ । कुनैपनि उद्योगलाई टिकाउनको लागि जति कच्चा पदार्थहरु आयात गर्छौ त्यसमा करको दर वृद्धि भएको छ । त्यसमा सुधार्न अति आवश्यक छ । करको दायरालाई घटायो भने फर्निचर व्यवसाय, फर्निसिङ व्यवसायलाई अझ फराकिलो गर्न सकिन्छ । यो व्यवसायले रोजगार पनि सिर्जना गर्छ ।
स्वदेशमै रोजगारी दिनसक्छौँ । सरकारको उद्योगप्रतिको नितिमा सुधार गर्नुपर्छ । जतिपनि उद्योग छन्, कच्चा पदार्थ भारत लगायत अन्य देशमा आउँछ । कच्चा पदार्थलाई तयारी वस्तु जस्तै भन्सार लिनेगर्छ सरकारले । बिना कुनै शुल्क कच्चा पदार्थ आयात हुन दिए लागत मूल्य घट्छ । नत्र विदेशबाट आएकोसँग प्रतिष्पर्धा गर्न सकिँदैन ।’
त्यस्तै, युनाइटेड फम एण्ड मेट्रेस इण्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरु विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरुलाई टेण्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताए । उनले नेपालकै फर्निचर तथा फर्निसिङ सामग्रीहरुलाई प्रयोग गर्ने चलन बढेको बताए ।
उनले भने– ‘काठका सामानहरु विदेशबाट ल्याउनुपरेको छ । भारत, पाकिस्तान, बंगलादेशबाट । सरकारले फर्निचरवालाहरुलाई टेण्डरमा गराएर यहीँको प्रयोग गर्न पाउनुपर्छ । विदेशीलाई भन्दा नेपालकै सामानलाई बढी प्रयोग गरिरहेको अवस्था छ अहिले । हामी व्यवसायीले पनि नेपालमै बनेको सामानलाई प्रयोग गरिरहेका छौँ ।’
त्यसैगरी व्यवसायी द्रोण न्यौपानेले नेपालमा विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादन नै बढी बिक्री भइरहेको बताए । स्वदेशी फर्निचर तथा फर्निसिङप्रति नेपालीहरुको विश्वास बढ्दै गइरहेको उनको भनाइ छ ।
भृकुटीमण्डपमा जारी प्रदर्शनी भदौ २७ गतेसम्म चल्ने जनाइएको छ । फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा अवलोकन कर्ताहरुको भीड लागेको छ । प्रदर्शनीमा सोचे भन्दापनि धेरै अवलोकन कर्ताहरुले अवलोकन गरेको उनीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया