औकात विर्सनेहरु....(कविता)

औकात विर्सिएर आज भोलि
स्यालहरु शहरको मध्य भागमा
हुँयिया गर्दैछन मध्यान्हमा
स्याल हुँयियाको पछि कुद्नेहरु
सिङ्गो शहरलाई सुत्ने आदेश दिँदै
रात परेको घोषणा गर्छन
र हतारिदै घाँटीमा गलपासो सुर्कदै
नागरिक आगमन बन्द गरि
दमकल र एम्बुलेन्सलाई माथ गर्ने गरि
इमर्जेन्सी हर्न बजाएर
हुँइकिन्छन तारे होटल तिर
यति बेला स्यालहरु
सुशासनको निम्ति
अन्तरक्रिया चलाई रहेछन
ब्वाँसोको प्रमुख आतिथ्यमा ।

औकात विर्सिएर आज भोलि
स्यालहरुको सभा सम्मेलन,
गोष्ठी र सेमिनारहरुमा
सभाअध्यक्ष बन्दै
शान्ती र सुशासनको नाटक मन्चन गर्दैछन
कथित ब्वाँसाहरु ।
र जारि गर्दैछन घोषणापत्र
समयको किटान गर्दै
सुशासनको फेहरिस्त
अन्त्यहिन यात्रा ।

औकात विर्सिएर आज भोलि
हिजो कफन बाँधेका ख्याउटे अनुहारहरु
ढाडिएका किर्ना जस्तै बनी
जुका र किर्नाहरुको भजन गाउदै
उद्घाटन र भोजमा व्यस्त छन
जनताको खुन पसिनाको मूल्य
बोटलबाट खन्याउदै
स्याल र ब्वाँसोहरुको वीच
दुई चार थान तस्विर क्यामेरामा कैद गरी
एकले अर्कोलाई चोर औला तेर्साउदै
चरित्रलाई चित्रले छोप्दैछन ।
माकुराको इतिहास धरापमा !
जाल बुन्दैछन आज भोलि
स्याल र ब्वाँसोको भोजमा
बेफिक्री डकारिरहेछन
शान्ती र सुशासनको नाममा ।

औकात विर्सिएर आज भोलि
घर गाउँ र शहरहरुमा
कामचोरहरु सल्बलाउन थाले पछि
किन नगरुन त!
माकुराहरुले आत्महत्या
किन नलेखुन त!
छेपाराहरुले सुसाइट नोट
अस्तित्व नै धरापमा परेपछी ।
शान्ती र सुशासनको नाममा
जब माहुरीहरुको घारमा
अरिङ्गाल छाड्ने आदेश फर्मान हुन्छ
कसरी सोच्न सकिन्छ र!
कर्मी माहुरी माथी ज्यादती हुदैन भनेर
रानी माहुरी बलात्कृत हुँदिन भनेर
माहुरीहरुले अझै
मह उत्पादन गर्छन भनेर।

त्यसैले
मध्याह्नमा हुँयिया गर्ने स्यालहरु
घाँटीमा गलपासो बाँधेका कथित ब्वाँसाहरु
हिजो कफन बाँधेका केही टाउकाहरु
औकात विर्सिएर होइन
औकातमा फर्किएर सोच
माहुरीहरु घारबाट बाहिरिएर
फूलको रस लिन छाडी
जब चिल्न शुरु गर्छन
निर्मलाका लासहरु
उखुबारीबाट उठि
जब प्रतिबेदन जलाउन थाल्छन
भोकलाई दबाउन
पटुका कस्नेहरु
थाल ठटाउदै
जब निषेधित क्षेत्र तोडन वाध्य हुन्छन
के हुन्छ त्यस पछि ?
इतिहास साक्षि राख्दै
म यो प्रश्नको 'जबाफ' खोजी रहेछु..
औकात विर्सनेहरुसँग ।

खेमराज आचार्य

आचार्य राजनैतिक तथा सामाजिक बिकृती र विसङ्गतीको बिरुद्धमा कलम चलाउने गर्छन । पेशाले उनी आईटी प्रोफेसनल हुन् ।

Leave a comment