काठमाडौं । १८ औँ एशियाली खेलकूद प्रतियोगिताका पदक विजेता खेलाडी सम्मानित भएका छन् ।
एनएस एफ स्पोर्टस् ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपाली का्रग्रेशका महामन्त्री डा. शशांक कोइरालाले पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा एशियाली खेलकूदमा रजत पदक जित्ने खेलाडीहरु अनुपस्थित भएपछि प्याराग्लाइडिङ एशोसिएशनका उपाध्यक्ष फत्तबहादुर गुरुङले सम्मान पत्र ग्रहण गरेका थिए । सम्मानित अन्य खेलाडीहरुमा स्वर्ण पदक विजेता जेमिन महर्जन, रजत पदक विजेता रोशन श्रेष्ठ, कमल भुजेल, जीतबहादुर श्रेष्ठ, प्रकाश थापामगर र विश्वकल्याण लामा रहेका छन् ।
चार दशकदेखि खेलकूद क्षेत्रमा योगदान पुर्याउँदै आएका फोटो पत्रकार श्याम चित्रकार, नेपाल खेलकूद मञ्च मासिकका उमेश दाहाल, पत्रकार समीर नकर्मी लगायतलाई पनि सो अवसरमा सम्मान गरियो ।
सो अवसरमा महामन्त्री कोइरालाले उत्कृष्ट खेलाडी बन्न कडा परिश्रमको आवश्यकता रहेकामा जोड दिए ।
“खेलकूदमा मात्र होइन युवा वर्गलाई राजनीतिमा पनि आकर्षित गर्नुपर्छ, कांग्रेसलको आगामी महाधिवेशन र संसदीय निर्वाचनमा १७ लाख युवालाई आकर्षित गर्ने लक्ष्य छ, युवा शक्तिको साथ लिएर कांग्रेसले विजय हासिल गर्छ, युवा शक्तिको राजनीतिमा प्रवेशविना राष्ट्रको उन्नति सम्भव छैन”, उनले भने ।
स्पोर्टस् ग्रुपका अध्यक्ष एसपी त्रिपाठी, समाजसेवी रामचन्द्र खड्का, कार्यक्रम संयोजक डिएन के सिंह लगायतले राजनीतिक नेतृत्वले खेल क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया