साविक विजेता नेपाल बंगबन्धु गोल्डकप फुटबलको समूह चरणबाटै बाहिरियो

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

शनिवार भएको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १-० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालले खेलेको दुवै खेलमा हार बेहोरेको थियो । यस अघि भएको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २-० गोल अन्तरले पराजित भएको थियो । 

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको प्यालेस्टाइनका लागि खेलको ७० औँ मिनेटमा खालेद सलेमले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्‍यो ।  

लगातार दुई खेल जित्दै प्यालेस्टाइन  समूहको विजेता र ताजकिस्तान उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले यसअघि सन् २०१६ मा बंगबन्धु गोल्ड कप फुटबलको उपाधि जितेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?