महिला क्रिकेट खेलाडीको गुनासो ‘लौन सरकार बलिङ र ब्याटिङ नै बिर्सन लागिसक्यौँ’

कक्षामा ‘को क्रिकेट खेल्छ ?’ भनेर शिक्षकले नाम टिप्दै गर्दा हात उठाउने पहिलो र एक मात्र केटी थिइन् सरिता । भलै उनलाई क्रिकेट कसरी खेलिन्छ, कहाँ खेलिन्छ, कस्तो खेल हो भन्ने कुनै ज्ञान थिएन तर उनले हात उठाइन् । किनकि उनलाई खेल्न मनपथ्र्यो । जस्तोसुकै खेल होस् उनलाई मात्र खेल्नुसँग मतलब थियो । त्यतिबेला उनलाई थाहा थिएन कि कुनै दिन यही खेलमार्फत् उनले आफ्नो देशलाई अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गर्ने अवसर जुट्छ भनेर ।

तर, जीवनमा अक्सर अप्रत्यासित कुराहरु नै हुने गर्छन् । उनको जीवनमा पनि भयो त्यही । विस्तारै खेलका बारेमा बुझ्दै जाँदा उनको क्रिकेट मोह झन्झन् चुलिँदै गयो । अन्ततः क्रिकेट खेल्न शुरु गर्दा यो कस्तो खेल हो भनेरै नबुझेकी सरिता राष्ट्रिय खेलाडी बन्न सफल भइन् । 

सरिता मगर राष्ट्रिय महिला क्रिकेट टिमकी ‘अल राउन्डर’ हुन् । उनले राष्ट्रिय टिमबाट खेलेको ११ वर्ष पूरा भइसकेको छ । आफ्नो ११ वर्षे लामो क्रिकेट करियरमा उनले अन्तर्राष्ट्रिय रेकर्डसमेत बनाइसकेकी छिन् । नेपालकै नेरी थापाले एसीसी कपमा बनाएको ६२ रनको कीर्तिमानीलाई तोड्दै सरिताले ७२ रनको कीर्तिमानी कायम गरेकी छिन् जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । राष्ट्रिय टिमसँगै उनी एपिएफसँग पनि आबद्ध छिन् । खेलकुदमा यसै पनि महिलाको सङ्ख्या कमै हुन्छ त्यसमा पनि क्रिकेट खेल्ने महिलाहरु त झनै न्यून । त्यही न्यून सङ्ख्यामा पर्छिन् सरिता ।

सोलुखुम्बुमा जन्मिएकी सरिता सानैदेखि खेलकुदमा सक्रिय । तर, उनी हुर्केको ठाउँमा खेललाई रुचिमै सिमित राखिन्थ्यो त्यसैले राष्ट्रिय खेलाडी बन्ने जस्तो सपना उनको पहुँचमै थिएन । तर, अहिले क्रिकेटले उनलाई नयाँ जीवन दिएको छ, त्यस जीवनलाई जिउने आधार पनि दिएको छ । त्यसैले उनले पनि क्रिकेटलाई नै आफ्नो जीवन दिएकी छिन् । क्रिकेट खेलाडी नभएको भए अहिलेसम्म विवाह भएर बालबच्चा, घरपरिवार सम्हालेर बस्नुपर्ने अवस्था हुन्थ्यो भन्ने सरिताको अनुमान छ । ‘क्रिकेट खेलाडी नबनेको भए शायद कसैको श्रीमती हुन्थेँ होला । घरजम गर्दै हुन्थेँ होला ।’ हाँस्दै उनले बताइन् । तर अहिले उनी खुसी छिन् । आफ्ना आवश्यकताहरु पूरा गर्न कसैको भरपर्नु परेको छैन । 

***

बिहान ६ बजेदेखि उनको दैनिकी शुरु हुन्छ । एपिएफमा आबद्ध भएकाले ७ बजेदेखि ११ बजेसम्म त्यहीँ ट्रेनिङ गरेर घर फर्किन्छिन् । खाना खाएर, आराम गरेर फेरि इभिनिङ ट्रेनिङको लागि सरिता रातोपुल पुग्छिन् । केही वर्षदेखि उनको समय यसरी नै बितिरहेको छ । ट्रेनिङमै सिमित रहेर । नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु आयोजना नहुने भएकाले पनि प्राय खेलाडीहरुलाई फुर्सद हुने उनी बताउँछिन् । तर, उनीहरु फुर्सद चाहँदैनन् । उनीहरु आफूले गरेको ट्रेनिङ प्रस्फुटन गर्ने फिल्ड चाहन्छन् । ‘पर्सनल प्राक्टिस गरेर मात्रै कहाँ हुन्छ त ? यदि हामी गेम नै खेल्न पाउँदैनौं भने आफूलाई ‘इम्प्रुभ’ कसरी गर्ने ?’ उनको यो प्रश्न सम्बन्धित निकाय र निरीह राज्य व्यवस्थाका लागि हो ।

बङ्लादेशका साथीहरुले आफ्नो देशमा महिनामा कम्तीमा १२–१३ वटा प्रतियोगिताहरु आयोजना हुन्छ भनेको सुन्दा सरिताको मन कटक्क खान्छ । यता आफ्नो देशमा खेलको खडेरी लागेको आफैंले देख्नु, सुन्नु र भोग्नु पर्दा नमज्जा लाग्छ । ‘कुनै जमानामा जुन देशलाई फिल्डमा आछुआछु पारेर हराइन्थ्यो आज त्यसैले हामीलाई सजिलै जितिदिन्छ । साह्रै चित्त दुख्छ ।’ उनले आफ्नो दुखेसो पोखिन् । 

त्यसो नेपाली महिला क्रिकेट टिमले पनि धेरै पटक अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरेर जीत हाँसिल नगरेको होइन । यस्तै एउटा अविस्मरणीय जीतको कथा सरिता दङ्ग पर्दै सुनाउँछिन् । 

सिंगापूरसँगको म्याच थियो । हामी फिल्डिङ गर्दै थियौं । सिंगापूर ब्याटिङ गर्दै थियो । हामीलाई जित्न सिंगापूरले मात्र दुई रन बनाउनुपर्ने थियो । तर, एक बल मात्र बाँकी थियो उनीहरुसँग । त्यसैले त्यो अवस्था दुवै टिमको लागि ‘डु अर डाइ’ किसिमको थियो । सिंगापूरका खेलाडीहरु पनि रुँदै ब्याटिङ गर्न थाले । यता, हामी पनि रुँदै फिल्डिङ गर्न थाल्यौं । सिंगापूरले ब्याटिङ ग–यो । त्यो दिन शायद लक हाम्रो फेभरमा थियो, उनीहरुले दुई रन बनाउन सकेनन् । केही समयअघिसम्म हारको डरले रोइरहेका हामी त्यसपछि भने जीतको खुसीले रुन थाल्यौं । यो खेल जीवनकै अविस्मरणीय हो मेरो लागि र शायद मेरो पूरै टिमका लागि ।

तर, हिजोआज यस्ता किस्साहरु बन्ने अवसर नै पाउँदैनन् ।  यादमै मात्र सिमित छन् । महिला क्रिकेट टिमले यस्तै किस्साहरु फेरि फेरि बनाउने अवसर पाएनन् । उता पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा आफ्नो धेरथोर पहिचान बनाइसक्दा महिला टिम चाहिँ दिनप्रतिदिन किन ओझेलमा पर्दै गएको होला भन्ने प्रश्नमा सरिता भन्छिन् ‘सरकारले सबै खेललाई र सबै टिमलाई समान व्यवहार गर्नुप–यो । सबै समस्या सुल्झिहाल्छ ।’ फेरि, खेलस्तर खस्कदै जानुमा पूर्णरुपमा सरकारलाई पनि दोष दिन चाहन्नन् उनी । ‘हामी पनि कहीँ न कहीँ चुकेको हुन सक्छ ।’ उनी थप्छिन् । 

खेलाडीहरुले पर्याप्त रुपमा गेमहरु खेल्न नपाउने समस्या एकातिर र खेलेवापत् पर्याप्त रकम नपाउने समस्या अर्कातिर । यहाँ खेलकै भरमा आफ्नो जीवन चलाउन सकिन्छ भनेर नसोचे नि हुन्छ । विकल्पमा केही सोच्नैपर्ने हुन्छ भनेर हरेक खेलाडीले अभिव्यक्ति दिँदै आएका छन् । यस मामिलामा सरिताको पनि यस्तै विचार छ । ‘आगामी दिनमा कोचिङ गर्ने सोच छ । छुट्टै ट्रेनिङ इन्टिच्युट नि खोल्न सक्छु । जे होस् क्रिकेट छोड्दिन ।’ यसो भन्दै उनी हल्का मुस्कुराइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?