काठमाडौं । हिन्दूहरुको महान चाड दशैंलाई लक्षित गर्दौ नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ ।
राष्ट्र बैंकले आइतवारदेखि सर्वसाधारणको लागि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
सर्वसाधारणले यही असोज २९ गतेसम्म नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २ र २ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिएको छ ।
नेपाल बैंकको शाखा कार्यालय न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन, औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूरमा नयाँ नोट सटहीको सुविधा छ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका कार्यालयहरु सिहंदरबारप्लाजा, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, बिशालबजार, नक्साल, कलंकी , बालाजुमा पनि नोट सटहीको सुविधा छ ।
कृषि विकास बैंकको शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ ।
उपत्यका बाहिर भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट नयाँ नोट साट्न पाउनेछन् ।
तस्वीर: सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया