काठमाडौं । पाँचौँ संस्करणको बंगबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टिम आइतवार दिउसो स्वदेश फर्किएको छ ।
बंगबन्धु गोल्डकपको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो ।यता, नेपाली राष्ट्रिय टिमका कप्तान बिराज महर्जनले शहिद स्मारक ‘ए’ डिभिजन लिगको दवावमा बंगबन्धु गोल्डकपमा उत्कृष्ट खेल्न नसकेको बताए ।
साथै उनले नेपाली टोलीका अधिकांस खेलाडीहरुको ध्यान लिगमा केन्द्रित भएकोले पनि टिमको प्रर्दशन खस्किएको जानकारी दिए ।
‘‘हामीले जारी बंगबन्धु गोल्डकपमा उत्कृष्ट खेल्ने प्रयास गरेका थियौं, तर सबै खेलाडीहरु घरेलु लिगमा केन्द्रित हुँदा प्रर्दशनलाई माथि उकास्न सकेनौं, खेलाडीहरुले ‘ए’ डिभिजन लिगमा कसरी राम्रो खेल्ने भन्ने मानसिकता भएका कारणले पनि टिमको खेलमा कमजोरी दिएको हो’’ उनले भने ।
नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बंगबन्धु गोल्डकपमा नेपाल हार्नुको मुख्य कारण कठिन प्रतिद्धन्दी रहेको बताए । ‘‘यस पालि हामी कठिन समूहमा परेको थियो, फिफा वरियतामा पनि अन्य राष्ट्रहरु हामी भन्दा माथि छन्, ओभरअलमा हामीले राम्रै खेल खेल्यौं’’ उनले भने ।
नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया