तेस्रो हारसँगै नेपालको यु-२० को छनोट सम्भावना सकियो

लोकपथ
105
Shares

काठमाडौं । बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

बहराइनमा जारी छनोटको समूह ‘बी’ मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो ।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेको हो । बहराइनका मोहमद अलीले १८औँ मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको प्रहार नेपाली डिफेन्डर सुमित श्रेष्ठको हातमा लागेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको ९ मिनेट नबित्दै बहराइनका अब्दुलरहमान गड्बानमाथि खराब फाउल गरेपछि नेपाली डिफेन्डर अमर श्रेष्ठलाई म्याच रेफ्रीले रातो कार्ड देखाएका थिए ।

अमरको रातो कार्डसँगै १० जनामा सीमित भएको नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औँ मिनेटमा पुनः गोल गर्‍यो । साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता २-० को पारे ।

नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो । ६७औँ मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए । अब्दुल्लाह अलीले ८४ र ८८औँ मिनेटमा लगातार दुई गोल गरे ।

इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे । बुधबार राति नै भएको समूह ‘बी’को अर्को खेलमा कतारले भुटानमाथि ६–० कै जित निकालेको थियो ।

जितसँगै कतार ६ अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ । यस्तै, पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौँ स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?