चितवनमा दशैँ लक्षित सुरक्षा योजना : मोबाइल गस्तीदेखि छड्के जाँचसम्म

चितवन । चितवन प्रहरीले दशैँ तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । 

चाडपर्व लक्षित सुरक्षामा ४ सय ५६ प्रहरी खटाइने चितवनका प्रहरीले जनाएको छ । 

चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार चितवन जिल्लामा ट्राफिक प्रहरीसहित ७ सय १४ प्रहरीको जनशक्ति परिचालन गरिने छ । 

सुरक्षाका लागि विभिन्न नौ वटा क्षेत्रमा प्रहरी परिचालन गर्ने योजना बनाइएको उनले बताए । 

चितवनको विभिन्न चोकचोकमा सुरक्षाका लागि ९१ प्रहरी खटिने छन् ।

राजमार्ग र भित्री सडकमा मोबाइल गस्ती गर्न १४ वटा प्रहरी इकाइका ५६ प्रहरी, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल एवम् ठूला कारोबार हुने बजार क्षेत्रमा ५५ प्रहरी खटिने एसपी राठौरले जानकारी दिए । त्यस्तै छड्के जाँचका लागि भने २७ वटा प्रहरी इकाइ अन्तर्गत ६१ जना परिचालन गरिनेछ ।

पटाका र विस्फोटक पदार्थ नियन्त्रणका लागि आठवटा प्रहरी इकाइका ४८ जना परिचालित गरिने छ । 

त्यस्तै चितवन प्रहरी प्रवक्ता प्रभु ढकालका अनुसार प्रहरीले टिकट काउन्टरको नियमित अनुगमन गर्ने र समस्या आएमा तत्काल सम्वोधन गर्ने गरी छुट्टै टोली परिचालन गरेको छ । भरतपुरको केन्द्रीय बसपार्क, पोखरा बसपार्क र पुल्चोकमा यात्रु सहायता कक्ष राखिने छ । बढी भाडा लिए–नलिएको अनुमगन गर्न ट्राफिक प्रहरीले पनि छड्के जाँच गर्ने तयारी गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?