ला लिगा फुटबल : बार्सिलोनाको खराब प्रर्दशन जारी, सेभिल्ला लिगको शिर्ष स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना लिगको दोस्रो स्थानमा झरेको छ । 

आइतवार राति सम्पन्न भएको आठौँ चरणको खेलमा बार्सिलोना भ्यासेन्सियासँग एक-एक गोलको बराबरीमा रोकिएपछि लिग तालिकाको दोस्रो स्थानमा झरेको हो । आफ्नो घरेलु मैदानमा भएको खेलको शुरुवाती दुई मिनेटमा नै भ्यालेन्सियाका लागि इजिक्वेल गेराईले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

गेराईले गोल गरेपछि निक्कै आक्रामक खेल खेलको बार्सिलोनाले २३ औँ मिनेटमा बराबरी गोल फर्कायो । लियोनेल मेस्सीको उत्कृष्ट प्रहारले गोल पोष्टको जाली चुमेपछि खेल बराबरीमा पुगेको थियो । खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा रोकिएको दुवै क्लबले दोस्रो हाफमा भने थप गोल गर्न सकेन ।

बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । जारी लिगमा बार्सिलोनाले खेलको यो तेस्रो बराबरी खेल हो । पछिल्लो चार खेलमा बार्सिलोनाले तीनमा बराबरी र एक खेलमा हार बेहोरेको छ । 

बराबरीपछि बार्सिलोनाले १५ अंक बनाएको छ भने ९ अंकका साथ भ्यालेन्सिया १४ औँ स्थानमा छ । 

आइतवार राति नै भएको अर्को खेलमा सेभिल्लाले सेल्टा डि भिगोलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । सेभिल्लाको जीतमा खेलको ३९ औँ मिनेटमा पाब्लो सारावियाले तथा ६१ औँ मिनेटमा बेन येडरले समान एक-एक गोल गरेका थिए ।

यता सेल्टा डि भिगोका लागि ८५ औँ मिनेटमा  सोफान बउफलले एक मात्र सान्त्वना गोल फर्काए । जितपछि १६ अंक बनाएको सेभिल्ला लिगको पहिलो स्थानमा उक्लिएको हो ।

आइतवार राति नै भएको अन्य खेलहरुमा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले, स्पानियोलले भिल्लारियललाई ३-१ गोल अन्तरले तथा रियल भाल्लाडोलिटले हुएस्कालाई १-० गोल अन्तरले पराजित गर्‍यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?