निर्वाचन प्रभाव : नेताका घरमा बढ्न थाल्यो भीडभाड

आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै देशमा राजनीतिको माहोल तात्न थालेको छ । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार असोज २ र ३ गते राजनीतिक दलले समानुपातिक उम्मेदवारको नाम टुंग्याएर पठाउनुपर्नेछ ।

त्यसो त यतिबेला मुख्य राजनीतिक दलहरुलाई उम्मेदवार टुंगो लगाउन सकस परिरहेको छ । पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुलाई प्रत्यक्ष या समानुपातिक उम्मेदवारको अन्तिम टुंगो झनै गाह्रो परिरहेको छ ।

गठबन्धनभित्र कांग्रेसको एक पक्षले प्रत्यक्षतर्फ एकसय सीटको माग दाबी गरिरहेको छ । यद्यपि, अन्य दलहरुले बढी महत्वकांक्षा राखेका कारण भदौको पहिलो साता टुंग्याइने भनिएको सीट बाँडफाँट अझै टुंगिन नसकेको कांग्रेस नेताहरुको भनाइ छ । ।

तर, यतिबेला कांग्रेसका शीर्ष नेताहरुको आँगनमा नेता तथा कार्यकर्ताहरुको भीड लाग्न थालेको छ । लाग्छ, नेताहरुको घरमा कुनै मेला चलिरहेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शशांक कोइराला लगायत नेताहरुको घरमा टिकट माग्नेदेखि भेटघाट गर्नेसम्मको बाक्लो भीड देख्न सकिन्छ ।

देशभरका क्षेत्रीय कार्यसमितिमार्फत जिल्लाले केन्द्रमा नाम सिफारिस गरेसँगै टिकटको आशा बोकेर जिल्ला तथा क्षेत्रीयस्तरका नेताहरु काठमाडौं आइपुगेका छन् । यद्यपि, गठबन्धनभित्रको गठजोडले गर्दा कसले कहाँबाट टिकट पाउँछ भन्ने अझै आधिकारिक टुंगो लागिसकेको छैन । त्यसैका लागि पनि नेता तथा कार्यकर्ताको दौडधुप चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान सबेरैदेखि नेता कार्यकर्ताहरु हुल बाँधेर पुग्छन् । तर, थोरैले मात्र प्रधानमन्त्री तथा सभापतिसँग भेटको अवसर पाउँछन् । कार्यव्यस्तताको कारण उनीहरुले भेट नपाएपछि दोस्रो तहका नेताहरुसँग समेत भेटघाट गरी टिकटको लागि भनसुन गरिदिन भन्दै आउने गरेको कांग्रेस नेताहरु बताउँछन् ।

त्यस्तै, महामन्त्री थापाको रातोपुलस्थित घरमा बिहानैदेखि देशभरबाट आएका नेता कार्यकर्ताहरुको ठूलो भीड लाग्ने गरेको छ । व्यक्तिगत रुपमा भेटघाट गर्न असम्भव भएपछि सामूहिक रुपमा भेटघाट गरि महामन्त्रीले कुरा सुन्ने गरेको उनका सहयोगीहरु बताउँछन् । त्यसो त नेता कार्यकर्ताहरुको भेटघाटको कारण महामन्त्री थापाको धेरै कार्यक्रमहरु समेत प्रभावित बन्ने गरेको छ । यद्यपि, डेंगु संक्रमणका कारण महामन्त्री थापा आराम गरिरहेका छन् ।

गुनासो सुन्दै कांग्रेस महामन्त्री थापा

यता, कांग्रेस नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पनि त्यतिकै भीड देखिन्छ । मुख्यतः गण्डकी प्रदेशबाट आएका नेता कार्यकर्ताहरुको भीड पौडेल निवास बोहोराटारमा लाग्ने गर्दछ । निर्वाचनको मिति नजिकिएसँगै दैनिक भेटघाट गर्ने र टिकटका लागि सभापतिलाई भनसुन गरिदिन भन्दै पौडेल निवास धाउने नेता तथा कार्यकर्ताको लर्को नै देखिन्छ ।

पौडेल निवास बोहोराटारमा भीडभाड

त्यसैगरी, बालुवाटारस्थित शेखर कोइराला निवासमा पनि त्यतिकै भिड छ । पार्टीको १४औँ महाधिवेशनयता नै कोइराला निवासमा बढेको चहलपहल आगामी चुनावले भने झनै बढाएको छ । मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा थोरै मतान्तरससहित सभापतिमा पराजित भएका उनले संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । जसको कारण पनि निर्वाचनको मिति नजिकिएसँगै भेटघाटका लागि नेता कार्यकर्ताहरुको भीडभाड लाग्ने गरेको छ ।

नेपाली कांग्रेस भित्र तेस्रो धारको नेतृत्व गरिरहेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निवास चण्डोलमा पनि यतिबेला नेता तथा कार्यकर्ताको भीड लाग्ने गरेको छ । कांग्रेसभित्र मात्र नभए नेपाली राजनीतिमा नै कुटिल राजनीतिज्ञको छवी भएका सिटौलासँग समन्वयात्मक क्षमता भएका कारण विभिन्न आश बोकेर नेता तथा कार्यकर्ताहरु सिटौला निवास पुग्ने गरेका छन् । आफैँ निर्वाचनको तयारी गरिरहेका सिटौलाले केन्द्रमा समापतिदेखि सबै तहका नेताहरुसँग टिकट र समस्याका लागि समन्वय गरिदिने आशाले काठमाडौं आइसकेपछि नेता तथा कार्यकर्ताहरु उनको निवासमा पस्ने गरेको त्यहाँ आएकाहरु बताउँछन् ।

No description available.

यता, कांग्रेस नेता अर्जुननरसिंह केसी निवास गोंगबुमा पनि देशभरका नेता कार्यकर्ताहरुको त्यत्तिकै भीडभाड लाग्ने गरेको छ । नेता केसीले व्यक्तिगत रुपमा सबैसँग सौहार्दपूर्ण व्यवहार गर्ने भएकाले पनि नेता कार्यकर्ताहरु भेटघाटका लागि पुग्ने गर्छन् । तर, निर्वाचनको मिति नजिकिएसँगै टिकटको लागि पहल गर्न र व्यक्तिगत कामकाजका लागि भन्दै नेताहरुको भीडभाड बढ्ने गरेको उनको सचिवालयले जनाएको छ । ‘उहाँ सबैसँग सौहार्दपूर्ण व्यवहार गर्ने भएकाले धेरैले भेट्ने चाहना राख्दछन्, तर निर्वाचनको बेला व्यक्तिगत रुपमा भेटघाट हुन कठिन छ, जसको कारण हामीले गुनासाहरु सामूहिक रुपमा राख्ने प्रबन्ध मिलाएका छौँ,’ केसीको सचिवालयका एक सदस्यले भने ।

यता कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत निवास बाँसबारीमा पनि टिकट र अन्य गुनासा लिएर त्यतिकै मात्रामा नेता कार्यकर्ताहरु पुग्ने गर्दछन् । पार्टी प्रवक्ता र प्रधानमन्त्री एवं सभापतिसँग निकटको सम्बन्ध रहेका कारण पनि डा. महतकोमा जानेहरुको संख्या पनि धेरै छ ।
सभापति देउवासँग आफ्ना मागहरु पुर्याउन सक्ने आशामा नेता कार्यकर्ताहरु महत निवास पुग्ने गरेको उनका सचिवालयका सदस्यहरु बताउँछन् ।

यता कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा पनि नेता कार्यकर्ताहरुको भीडभाड बाक्लो देखिन्छ । पूर्वमहामन्त्री समेत रहेका सिंह देउवासँग समेत समदुरी सम्बन्ध राख्न सक्ने भएकाले नेता कार्यकर्ताहरु आशाका किरण बोक्दै उनको दैलो धाउँछन् ।

बिहानैबाट नेता कार्यकर्ताहरुको भीडभाड हुने कारण कतिपय पूर्व निर्धारित कार्यक्रमहरु समेत प्रभावित हुने गरेको सिंहका एक सचिवालय सदस्यले बताए । ‘चुनावको मिति नजिकिएसँगै नेता कार्यकर्ताहरुको भीडभाड लाग्नु स्वभाविक हो,’ उनले भने, ‘उहाँले सभापतिसहितका नेताहरुसँग समन्वय गर्न सक्ने क्षमता भएका कारण पनि उहाँलाई भेट्न आउनेको भीड हुन्छ ।’

सिंह निवास चाक्सिबारीमा भीडभाड

त्यस्तै, यता कांग्रेस नेता एवम् निवर्तमान महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पनि नेता कार्यकर्ताको भीड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?