मोडल अनिता आचार्यको लोभलाग्दो विजनेस, विवाहबारे यसो भन्छिन्

अनिता आचार्य, नेपाली विज्ञापन तथा चलचित्रमा फाट्टफुट्ट देखिरहेको अनुहार हो । भलै, यस क्षेत्रलाई चटक्कै छोडेर अहिले उनी व्यवसायिक क्षेत्रमा आफूलाई उभ्याउन व्यस्त छिन् तर, कुनै समयमा नेपाली विज्ञापन, टिभी कमर्सियल्स मार्फत् नचिनिएकी होइनन् । मोडल बन्ने सपना नदेखेको भएपनि भाग्यले उनको बाटोमा मोडलिङ क्षेत्रलाई ल्याइदियो, उनले नकारिनन् । 

‘जीवन सुन्दर छ । जिउन जानियो भने ।’ जीवनका बारेमा यस्तै धारणा राख्ने अनिताले जीवनमा नयाँनयाँ कुराहरु सिकिरहन मन लाग्ने भएकाले पनि आफ्नो सोचभन्दा केही भिन्न क्षेत्र अर्थात् मोडलिङमा पाइला टेकेको उनी बताउँछिन् । 

काठमाडौंमै जन्मिएकी अनितालाई सानैदेखि ‘बिज्नेस’ फिल्डमा रुचि थियो । उनको मोडलिङ करियर भने मिस नेपालमा भाग लिएपछि मात्र शु्रु भएको हो । सन् २०१० मा १२ को परीक्षा दिएर बसेकी अनितालाई उनकी दिदीले आफ्नो खाली समयलाई सदुपयोग गर्दै मिस नेपालमा भाग लिने सल्लाह दिइन् । जिउडाल पनि मिलेको, उचाइ पनि ठिक्क, मान्छेसँग अन्तरक्रिया गर्न नहिच्किचाउने र ट्यालेन्ट पनि भएकाले उनले प्रतियोगितामा राम्रै प्रस्तुति दिन्छिन् भन्ने कुरामा उनका परिवार ढुक्क थिए । नभन्दै उनले त्यस प्रतियोगितामार्फत् धेरै कुराहरु सिक्ने अवसर पाइन् ।

उपाधि जित्न नसके पनि उनले टप टेनमा परेर ‘मिस ब्यूटीफुल स्माइल’ को उपाधि हासिल गरिन् । ‘नजितेर के भयो त ? मैले जित्न भन्दा सिक्न चाहेकी थिएँ । सिकेँ ।’ उनी मिलेका दाँत देखाउँदै मुसुक्क मुस्कुराइन् ।

उपाधि जित्न नसके पनि उनले टप टेनमा परेर ‘मिस ब्यूटीफुल स्माइल’ को उपाधि हासिल गरिन् । ‘नजितेर के भयो त ? मैले जित्न भन्दा सिक्न चाहेकी थिएँ । सिकेँ ।’ उनी मिलेका दाँत देखाउँदै मुसुक्क मुस्कुराइन् । मिस ब्यूटीफुल स्माइलको टाइटल यत्तिकै पाएकी होइनन् उनले भनेर प्रष्टै बुझियो । प्रतियोगितामा भाग लिने बारेमा सोच्दा त जितिन्छ नै जस्तो लागेको थियो उनलाई यद्यपी त्यहाँ पुगेर आफ्ना प्रतिस्पर्धीहरुलाई देखेपछि उनी केही हच्किइन् । ‘घरबाट निस्किँदा त जित्छु नै जस्तो लागेको थियो । त्यहाँ पुग्दा त सबैजना कस्तो खत्रा ! डर लाग्यो ।’ अडिसनको दिन सम्झिँदै उनी मज्जैले हाँसिन् ।

मिस नेपाल हुन नसकेपनि यो प्रतियोगिताले उनका लागि अवसरका ढोकाहरु खोलिदिए । टिभी कमर्सियल्स, फेसन शो का लागि अफरहरु आउन थाले । रिद्धिसिद्धी ज्वेलर्सको विज्ञापन मार्फत् उनले आफ्नो मोडलिङ करियरको उद्घाटन गरिन् । विज्ञापन हुँदै उनले नेपाली चलचित्र क्षेत्रमा पनि हात हालिन् । ‘सरी ल’ र ‘अलविदा’ नामक दुई चलचित्र बजारमा आए, उनी चलचित्र क्षेत्रबाट बाहिरिइन् । ग्ल्यामर क्षेत्रमा उनले त्यस्तै ६,७ वर्ष बिताइन् होला । यही क्षेत्रमै स्थापित हुने सपना कहिल्यै नदेखेकाले पनि होला यसले उनलाई केही फरक परेन । बरु आफूले सधैं चाहेको क्षेत्रमा प्रवेश गर्ने मौका जुट्यो । उनी बिजनेसमा लागिन् । बिजनेस पनि गज्जबले फस्टाउँदै गयो ।

आफ्नै फाइनान्स कम्पनी खोलेकी अनिता अहिले प्रबन्ध निर्देशकका रुपमा कार्यरत छिन् । त्यसैगरी, उनले पार्टनरसिपमा लाजिम्पाटमा ‘बिल्लीज् रेस्टुरेन्ट’ पनि खोलेकी छिन् । दुवै व्यवसाय सफल ढङ्गले चलिरहेकोमा उनलाई बडो आनन्द लागिरहेको छ । सानै उमेरमा छोरीले यति धेरै प्रगति गरिसकेकोमा उनका परिवार सन्तुष्ट छन् । अनि आफ्ना परिवारलाई सन्तुष्ट बनाउन सकेकोमा उनी ।
परिवारको अब एउटै मात्र इच्छा छ । अनिताको विवाह गरिदिने । विवाहको लागि केटा खोज्नै त शुरु गरिहालेका छैनन् उनीहरुले तर, छोरीलाई बेलाबेला विवाह गर्ने उमेर भयो है भन्ने सङ्केत दिइरहन्छन् । अनिता आफै पनि विवाह गर्न चाहन्छिन् तर, केही वर्ष पछि मात्र । 

‘कति वर्षपछि अनिता जी को विवाह हेर्न पाइन्छ होला त ?’

‘अबको २–४ वर्षमा पक्का ।’

‘अझै यति पर्खाउने ?’

‘बिजनेस अझै अघि बढोस् न । के को हतार ?’ उनी मन्द मुस्कुराइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?