सुर्खेत । कर्णाली प्रदेशमा अपाङ्गता भएका सात हजारभन्दा बढि बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको पाइएको छ । अपाङ्गताहरूका क्षेत्रमा कार्यरत विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या ७ हजार ८ सय ४२ रहेको पाइएको हो ।
केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा आठ हजार तीन सय सात जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको देखिएको बताए । त्यसमध्ये १ हजार आठ सय ७७ जना बालबालिका उपचाररत छन् भने ४ सय ६५ जनाले उपचार पूरा गरेका छन् ।
प्रदेशमा सबैभन्दा बढी सुर्खेतका १ हजार ६ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको बताइएको छ । त्यस्तै, दैलेखमा १ हजार ३ सय ३४ जना, सल्यानमा १ हजार २ सय २० जना, जाजरकोटमा ८ सय ८ जना, कालीकोटमा ७ सय १० जना र रूकुम–पश्चिममा ७ सय ९८ जनाको उपचारलगायतका पुनर्स्थापना सेवाको जरुरी छ ।
जुम्लामा ५ सय ५ जना, मुगुमा २ सय ८० जना, डोल्पामा १ सय ९२ जना र हुम्लामा २ सय ६२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको जनाइएको छ ।
केन्द्रका संयोजक देउजाले कर्णालीमा अझै पनि अपाङ्गता भएका सबै बालबालिकाको पहिचान भने हुन नसकेको बताए । कर्णालीमा पुनर्स्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या ठूलो देखिएपछि यहाँ पनि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी गरिएको छ ।
विकलाङ्ग मित्र समूहले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी थालेको हो । विकलाङ्ग मित्र समूहले अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा विगत ३८ वर्षदेखि सञ्चालन गर्दै आएको छ ।
आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यले कर्णाली प्रदेशमा पनि अपाङ्गता बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको स्थापना गर्न लागिएको हो । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाले सोही विषयमा जानकारी दिन बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको केन्द्रका संयोजक देउजाले जनाए ।
वीरेन्द्रनगरमा आधारभूत सेवाहरू उपलब्ध गराउने गरी असोजबाट केन्द्र स्थापना गरिनेछ । तत्काल पुनर्स्थापनाका प्राथमिक सेवाहरू उपलब्ध गराइने र यसलाई विस्तारै अस्पतालको रूपमा विकास गरिने योजना रहेको बताइएको छ । वीरेन्द्रनगर–१ चनाबारीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा नै पुनर्स्थापना केन्द्र स्थापना गरिने भएको छ ।
त्यसका लागि वडा कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका पाँच वटा कोठा पुनर्स्थापना केन्द्रका लागि उपलब्ध गराउने निर्णय गरिएको छ । कर्णालीमा अपाङ्गता भएका बालबालिकाले सहज रूपमा उपचारको पहुँचमा पुर्याउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको देउजाले बताए ।
कर्णालीमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा उपचार पाउन सकेका छैनन् । पुनर्स्थापना केन्द्रको स्थापना भएपछि अपाङ्गता भएका बालबालिकाको पहिचान, थेरापी र आधारभूत सेवाहरू उपलब्ध हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया