भोलि(सोमबार) महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल हुँदैछ । यसपटकको महिला साफ च्याम्पियनसिपको फाइनलमा फरक दृश्य देखिनेछ । फरक यो मानेमा कि पहिलो संस्करणबाट नै लगातार पाँच पटक उपाधि चुमेको भारत यसपटक भने सेमिफाइनलबाटै किनारा लागिसकेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले भारतविरुद्ध एक गोल गरेसँगै भारत उपाधि होडबाट बाहिरिएको छ । भारतलाई पराजित गर्दै इतिहास रचेको नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि सोमबार साँझ ५ बजे सुरु हुनेछ ।
२०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिप फुटबलको प्रायः खेलमा फाइनलमा पुगे पनि नेपालले अहिलेसम्म उपाधिलाई आफ्नो पोल्टामा पार्न भने सकेको छैन । सधैँ तगारोको रुपमा प्रस्तुत हुने गरेको भारतमाथि जित हात पारेको नेपाल यसपटक उपाधि देशबाट बाहिर जान नदिने लक्ष्यमा योजनामा छ ।
उता दोस्रो पटक फाइनल प्रवेश गरेको बंगलादेश पनि उपाधिलाई आफैसँग लैजान चाहन्छ । महिला साफको छैठौँ संस्करणको उपाधि कसले चुम्ला त ? यसको जवाफका लागि हामीले नेपाल र बंगलादेशबीचको खेल हेर्नैपर्छ ।
फाइनलसम्म आइपुग्दा
फाइनलसम्म आइपुग्न नेपालले ३ खेल खेलेको छ । जसमा पहिलो उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० को गोल अन्तरले पराजित गरेका थियो । त्यस्तै समूह चरणको दोस्रो खेलमा पनि नेपालले श्रीलंकामाथि ६–० को सानदार जित निकालेको थियो ।
त्यस्तै नेपालले सोमिफाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो ।
यता बंगलादेशले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सेमी फाइनलमा बंगलादेशले भुटानलाई ८ गोेलको वर्षा गराउँदै फाइनलमा आफ्नो स्थान बनाएको हो ।
नेपालले कूल ११ गोल गर्दै फाइनलसम्म आइपुग्दा आफ्नो पोष्टमा विपक्षीलाई बल छिराउने मौका दिएन । त्यस्तै, १७ गोल गर्दै फाइनलसम्म पुगेको बंगलादेशले हालसम्म एक गोल पनि सामना गर्नुपरेको छैन ।
नेपाल र बंगलादेश हेड टू हेड
साफको पहिलो संस्करणमै नेपाल र बंगलादेशको भेट भएको थियो । २०१० मा बंगलादेशमै आयोजना भएको पहिलो महिला साफमा नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो ।
दोस्रो संस्करणमा नेपाल र बंगलादेशको भेट नै भएन । पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनल पुगेको थियो । चौथो र पाँचौसंस्करणमा पनि नेपालको र बंगलादेशको भेट भएन ।
‘ट्रफी घर बाहिर जान दिन्नौँ’
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक थापाले उपाधि ट्रफी घर बाहिर जान नदिने मुख्य लक्ष्य रहेको बताएका हुन् । ‘साफको लागि धेरै मेहेनत गरेका छौँ,’ प्रशिक्षक थापा भन्छन्, ‘ट्रफी बाहिर जान नदिने नै हाम्रो लक्ष्य हो । उपाधि घरमै राख्ने अवसरलाई खेर फाल्दैनौं ।’
नेपाली टोलीकी कप्तान एन्जिला सुब्बा तुम्बापोले आफूहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको प्रतिक्रिया दिइन् । ‘हामी फाइनल खेल्न गइरहेका छौँ,’ एन्जिला दृढ सुनिइन्, ‘यो पटक मानसिक र शारीरिक रुपमा हामी बलियो छौँ । बंगलादेश पहिलेको भन्दा अहिले राम्रो छ ।’
त्यसका बाबजुत पनि नेपाल बलियो रहेको एन्जिला सुनाउँछिन् । ‘हामीले भारतलाई हराएर एउटा खुसी फर्काइसकेका छौं,’ एन्जिाले भनिन्, ‘अब भोलि फाइनलबाट अर्को विजयोत्सव मनाउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया