काठमाडौं । छैटौँ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा फाइनल खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ ।
यसपटकको महिला साफ च्याम्पियनसिपको फाइनलमा फरक दृश्य देखिएकाे छ । फरक यो मानेमा कि पहिलो संस्करणबाट नै लगातार पाँच पटक उपाधि चुमेको भारत यसपटक भने सेमिफाइनलबाटै किनारा लागिसकेको छ ।
फाइनलसम्म आइपुग्न नेपालले ३ खेल खेलेको छ । जसमा पहिलो उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० को गोल अन्तरले पराजित गरेका थियो । त्यस्तै समूह चरणको दोस्रो खेलमा पनि नेपालले श्रीलंकामाथि ६–० को सानदार जित निकालेको थियो ।
त्यस्तै, नेपालले सोमिफाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बंगलादेशले भारतलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सेमी फाइनलमा बंगलादेशले भुटानलाई ८ गोेलको वर्षा गराउँदै फाइनलमा आफ्नो स्थान बनाएको हो ।
नेपालले कूल ११ गोल गर्दै फाइनलसम्म आइपुग्दा आफ्नो पोष्टमा विपक्षीलाई बल छिराउने मौका दिएन । त्यस्तै, १७ गोल गर्दै फाइनलसम्म पुगेको बंगलादेशले हालसम्म एक गोल पनि सामना गर्नुपरेको छैन ।
२०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिप फुटबलको प्रायः खेलमा फाइनलमा पुगे पनि नेपालले अहिलेसम्म उपाधिलाई आफ्नो पोल्टामा पार्न भने सकेको छैन । सधैँ तगारोको रुपमा प्रस्तुत हुने गरेको भारतमाथि जित हात पारेको नेपाल यसपटक उपाधि देशबाट बाहिर जान नदिने लक्ष्यमा योजनामा छ ।
उता दोस्रो पटक फाइनल प्रवेश गरेको बंगलादेश पनि उपाधिलाई आफैसँग लैजान चाहन्छ ।
नेपाल र बंगलादेश हेड टू हेड
साफको पहिलो संस्करणमै नेपाल र बंगलादेशको भेट भएको थियो । २०१० मा बंगलादेशमै आयोजना भएको पहिलो महिला साफमा नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो ।
दोस्रो संस्करणमा नेपाल र बंगलादेशको भेट नै भएन । पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनल पुगेको थियो । चौथो र पाँचौ संस्करणमा पनि नेपालको र बंगलादेशको भेट भएन ।
महिला साफको छैटौँ संस्करणको उपाधि कसले चुम्ला त ? यसको जवाफका लागि हामीले नेपाल र बंगलादेशबीचको खेल हेर्नैपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया