‘छक्का पञ्जा ३ कन्टेन्ट विथ कमेडी हो’

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनको दैलोअगाडि आइपुग्दा कलाकारको व्यस्तता पनि बढेको छ । अरुलाई दशैँको रौनकले छोएको छ । तर, छक्का पञ्जा टीमलाई भने यतिबेला फिल्मको प्रचारमै दौडधूप छ । रिलिजको छेकोमा कलाकारको धपेडी साबिकको तुलनामा यसै पनि बढ्ने गर्दछ ।

सोमवार ‘छक्का पञ्जा ३’ टीम काठमाडौंमा एक कार्यक्रममा सिलसिलामा भेटियो । फिल्मकी निर्देशक दीपाश्री निरौला, मुख्य अभिनेता केदार घिमिरे, जितु नेपाल र अभिनेत्री दीपिका प्रसाईं एकसाथ भेटिएका थिए ।

दीपाश्री निरौलाले भनिन् – ‘आफ्नो फिल्म आउने भनेपछि त एकाएक व्यस्तता बढिहाल्ने भन्या, कति दिन भइसक्यो, राम्ररी सुत्न पाइएको छैन ।’

जब दीपक–दीपाको टीमले फिल्म ‘छक्का पञ्जा’ बनाए, त्यतिबेला उक्त फिल्मका लागि खासै दुःख गरेका थिएनन् । दुःख त गरेका थिए, तर पछिल्ला भागको तुलनामा कम दुःख गरेका थिए । ‘छक्का पञ्जा’ ले चाहिँ गज्जबकै व्यापार ग–यो । दर्शक हलसम्म ओइरिए । अर्कातिर फिल्ममा उठाइएका कतिपय विषयवस्तुको विरोध पनि भयो । जस्तो कि, फिल्मलाई लिएर महिला अधिकारकर्मीले यसमा महिलालाई देखाइएका पात्र र विषयलाई लिएर विरोध गरे । अर्कातिर फिल्ममा देखाइएका स–साना कमजोरीलाई पनि इस्यु बनाइयो ।

निर्माण टीमले दोस्रो फिल्म ‘छक्का पञ्जा २’ लाई ‘ब्यालेन्स’ मै ल्याउने गरी निर्माण ग–यो । विवाद त खासै खेपेन । तर, फिल्मले पहिलो भागको तुलनामा व्यापार पनि कम ग–यो ।

तेस्रो भागसम्म आइपुग्दा निर्माण टिम भने फरक शैलीमा काम गर्न खोजेको बताउँछ । ‘यो फिल्म चाहिँ सरकारी विद्यालयमा हुने शिक्षा र यसले पार्ने दीर्घकालीन असरलाई समेत देखाउन खोज्ने गरी तयार पारिएको छ’, निर्देशक दीपाश्री निरौलाले भनिन्, ‘दर्शकले हाम्रा फिल्ममा कमेडी मात्र हेर्न जानुभयो भने मन नपर्न सक्छ, फिल्ममा हामीले एउटा गहन विषय पनि उठान गरेका छौँ ।’

सरकारी विद्यालयका शिक्षकका रुपमा देखिएका छन् जितु नेपाल । पछिल्लो समय कमेडीभन्दा पनि अन्य भूमिकामा देखिने गरेका नेपालले भने, ‘यो फिल्ममा म शिक्षकको भूमिकामा छु, खासै कमेडी नहोला तर यसको अर्थ कमेडी नै छैन भन्ने होइन, परिवेशले दर्शक हसाउँछ, आफूलाई पनि मन परेको भूमिका हो यो’, जितु नेपालले आफ्नो भूमिकाबारे खुलाउँदै अगाडि थपे, ‘दर्शकले मलाई केही न केही फरक पक्कै देख्नुहुनेछ ।’

त्यसो त दीपक–दीपा बजार बुझेर दर्शकले बुझ्ने फिल्म बनाउनेमा जोड दिन्छन् । यसअघिका फिल्मजस्तै यो फिल्म पनि दर्शककेन्द्रित नै हो भन्नेमा दुई मत छैन । तर, यसपटक भने कमेडी त छ नै, त्योसँगै सन्देश पनि दिन खोजेका छन् । फिल्ममा मुख्य भूमिकामै छिन्, दीपिका प्रसाईं । ट्रेलरमा उनको कामलाई दर्शकले रुचाएका छन् । यद्यपि भूमिकाका बारेमा भने धेरै खुलाइएको छैन उनको ।

‘मेरो पहिलो फिल्म ‘ऐश्वर्य’ भन्दा निकै फरक देख्नुहुनेछ यसमा, लूकसमेत फरक छ, सक्दो राम्रो होस् भनेर काम गरेकी छु ।’, फिल्मकी नायिका दीपिका प्रसाईंले भनिन् ।

उनको तारिफ गर्दै निर्देशक निरौलाले थपिन्, ‘शूटिङका लागि झण्डै ७५ दिन हामी साथमै भयौँ होला, दीपिका रिसाएको एकपटक पनि थाहा भएन, कामलाई महत्त्व दिने उनको बानी मजाको लाग्यो ।’

अर्का हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ले पनि आफू यो फिल्मबाट उत्तिकै आशावादी भएको बताए । ‘मेरो भूमिका के हुनेछ भन्ने त धेरैले ट्रेलरबाटै थाहा पाउनुभयो होला, दर्शकले रुचाउने फिल्म बनेको छ ।’, घिमिरे थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?