फाईनलमा बंगलादेशसँगको हारपछि तीन खेलाडीले लिए राष्ट्रिय टिमबाट सन्यास

लोकपथ
273
Shares

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा घरेलु मैदानमा बंगलादेशसँग ३–१ गोलले हारेपछि नेपाली महिला फुटबल टिमका तीन खेलाडीले राष्ट्रिय टिमबाट औपचारिक सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणा गर्ने खेलाडीहरुमा डिफेन्डर पुनम जर्घा मगर तथा मिडफिल्डर दीपा राई र इन्दिरा राई रहेका छन् ।

उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् ।

डिफेन्डर पुनम जर्घा मगरले सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिईन् । उनले हालसम्म राष्ट्रिय टिमका लागि ३९ खेल खेलिसकेकी छिन् ।

त्यस्तै, मिडफिल्डर दीपा राईले सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा घरेलु टिम पाकिस्तानविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी उनले घरेलु मैदानमा भएको साफपछि सन्यास लिएकी हुन् । राष्ट्रिय टिमकी मिडफिल्डर दीपाले राष्ट्रिय टिमबाट ३६ खेल खेल्दै १ गोल गरेकी छिन् ।

अर्की मिडफिल्डर इन्दिरा राईले सन् २०१८ बाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिईन्। उनले चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । इन्दिराले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल मात्र खेलेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?