एन्फाले फुटबल टोलीलाई जनही ५० हजार दिने घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता खेलाडीहरुलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । 

भूटानमा सम्पन्न भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही ५०-५० हजार रुपैयाँ दिने घोषणा गरेको हो । 

‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मंगलवार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार दिने निर्णय गरेको हो । 

यही असोज २१ गते भएको फाइनल खेलमा नेपाली टोली बङ्गलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । 

त्यस्तै सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपाली महिला फुटबल टोली बुधवार स्वदेश फर्कदै छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?