विमलको ‘ए’ डिभिजन लिगमा डेब्यु

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका छन् । 

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लब विरुद्ध खेल खेल्दै पहिलो पटक ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका हुन् । 

अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानीको भूमिका सहित लिगमा डेब्यु गरेका हुन् । विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल युथ क्लबमा आवद्ध भएका थिए । 

चौध वर्षको उमेरमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि ९ गोल गरिसकेका छन् । 

विमलले यसअघि वि.स २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा वि.स २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे ।

सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?