काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत च्यासल युथले मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको पहिलो चरणको तेस्रो खेलमा च्यासल युथले मच्छिन्द्रसँग बराबरी गर्दै समान एक-एक अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लबले गोल गर्न असफल भएको थियो । युवा स्टार खेलाडी बिमल घर्तिमगरको कप्तानीमा मैदानमा उत्रिएको च्यासल मच्छिन्द्र क्लबविरुद्ध हावी भएपनि गोल गर्न भने सकेन् ।
खेलको ७५ औं मिनेटमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो । विमल घर्तिमगरलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई हेमन्त थापामगरले प्रहार गरेका थिए तर उनको प्रहार मच्छिन्द्रका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे ।
निर्धारित समयसम्म मच्छिन्द्र क्लबले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेलमा बराबरी गर्दै अंक बाड्न बाध्य भयो । यता खेल सकिएपछि पत्रकार सम्मेलनमा बोल्दै च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी श्रेष्ठले बारम्बार गोल गर्ने मौका पाएपनि स्ट्राइकरहरुले फिनिसिङ गर्न नसकेको बताए ।
‘‘क्लबको मिडफिल्डमा खेलाडीहरुबीच तालमेल मिलेको थिएन, गोल गर्ने थुपै अवसर थिए, तर स्ट्राइकरहरुले फिनीसिङ लाइन दिन सकेन् ’’ उनले भने ।
‘‘च्यासलले पाएको पेनाल्टी बिमलले हान्छ जस्तो लागेको थियो, तर उसको खुट्टामा समस्या भएका कारण उसको सट्टामा हेमन्तले प्रहार गरेपनि गोल गर्न सफल भए’’ उनले बताए ।
साथै, प्रशिक्षक श्रेष्ठले विमलले सोचेअनुरुप खेल्न नसकेको पनि जानकारी दिए । ‘‘हामी दोस्रो खेलमा जीत निकाल्ने रणनीतिका साथै मैदानमा उत्रन्छौँ’’ उनले भने ।
च्यासलले दोस्रो चरणको खेल दशैंपछि खेल्नेछ ।
नेपालले बंगबन्धु गोल्डकप फुटबलमा सहभागिता जनाएपछि करिब पाँच वर्षपछि सञ्चालन भएको लिग केही समयको लागि स्थगित भएको थियो । तर नेपाल बंगबन्धुको समूह चरणबाटै बाहिरिएपछि ‘ए’ डिभिजन लिग पुनः बुधवारबाट शुरु भएको हो ।
प्रतियोगिता अन्तर्गत भोली ‘बिहीवार’ फ्रेण्ड्स र थ्रिस्टार क्लबीच पहिलो तथा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्बलबीच दोस्रो खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया