कम्प्युटर साइन्स गर्दै गरेका सागर यसरी बने फेसन डिजाइनर, भन्छन्, ‘नेपाललाई विश्वसामु चिनाउने धोको छ’

फेसन क्षेत्रका उदीयमान हस्ति हुन् सागर मगर । उनले सपना देखेका छन् । सपना सानो छैन । नेपालको मात्र नभएर विश्व फेसन जगतमै फैलिने सपना उनले आफ्नो सानो मस्तिष्कमा अटाएका छन् ।

बनेपामा जन्मिएका २३ वर्षे मगरले फेसन डिजाइनिङमा डिप्लोमा गरेको धेरै समय भएको छैन । यद्यपी उनले कलिलो उमेरमै विभिन्न फेसन इभेन्टहरुमा डिजाइनिङ गरिसकेका छन् । हुन त उनलाई सानैदेखि फेसनमा रुचि थियो । आफ्ना आमा, दिदीहरुलाई काहीँ जाने बेलामा यो लाउनु, यसरी लाउनु भनेर सल्लाह दिइरहन्थे । तर, यो रुचि सपनामा तब परिणत भयो जब उनले आफ्नो १२ कक्षाको परीक्षापछि प्रबल गुरुङको कामहरु हेर्न थाले र उनको अन्तर्वार्ता फलो गर्न थाले । उनको दिमागमा पनि एक्कासी फेसनतिरै लाग्ने विचार पलायो । विचारलाई वास्तविकतामा परिणत गर्न धेरै समय लागेन ।

सागरले कम्प्यूटर साइन्स छोडेर फेसन डिजाइनिङमा प्रशिक्षण लिन शुरु गरिहाले । कम्प्यूटर साइन्स गर्दै गरेको छोराले एक्कासी फेसन क्षेत्रमा प्रवेश गर्छु भन्दा बाबुआमा अचम्ममा पर्नु स्वभाविक नै हो । उनीहरु छोराको इच्छाप्रति त्यति सकारात्मक देखिएनन् । फेरि, फेसन क्षेत्रलाई त्यति सम्मनित दृष्टिकोणबाट हेर्दैन समाजले । ‘मेरो बच्चा फेसन क्षेत्रमा काम गर्दैछ’ भनेर धक फुकाएर भन्न अझै हिच्किचाउँछन् बाबुआमाहरु । यही कारणले गर्दा सागरलाई शुरुवातमा केही समस्या भएतापनि समयसँगै बाबुआमाले पनि उनको खुसीलाई नै प्राथमिकता दिए । ‘

अहिले पनि उहाँहरु त त्यति खुसी हुनुहुँदैन । तर, एकदिन हुनु हुनेछ । म बनाउनेछु ।’ सागरको बोलीमा कन्फिडेन्स झल्कियो । 

परिवारबाट मात्र नभएर शुरुमा त उनले साथीभाइहरुबाट समेत आलोचना खेप्नु परेको थियो । ‘यस्तो विषय के पढेको ? फेसन डिजाइनिङ रे ? अलि विचार गरेर पढ् है केटा !’ यस्ता अभिव्यक्ति उनका लागि नौला भएनन् । तर, उनले आफ्नो मनमस्तिष्कमा फेसनलाई नै आफ्नो करियर बनाउने बारेमा सोचिसकेकाले यस्ता अभिव्यक्तिहरु उनको सपनाको बाधक बन्न सकेनन् । 

डिजाइन, फेसन भनेको केटीहरुको क्षेत्र हो भन्ने एउटा पुरातनवादी सोच पनि नेपाली समाजमा व्याप्त छ । त्यही भएर पनि फेसन डिजाइनिङ सिक्नेहरुमा प्राय केटीकै सङ्ख्या बढी हुने गर्छ । सागरको ब्याचमा उनी एक्लै केटा थिए । तर, सबै साथी तथा प्रशिक्षकहरुको राम्रो साथ पाएकाले उनलाई त्यति गाह्रो महसुस भएन । ‘बरु केटीहरु भन्दा क्लासमा मेरै प्रस्तुति राम्रो भएकाले अझै बढी सर्पोट चाहिँ पाएँ ।’ मख्ख पर्दै उनले बताए । 

यो क्षेत्रमा जति चुनौतीहरु छन् उति नै रमाइलो पनि भन्ने सागरको बुझाइ छ । सागरका अनुसार फेसन क्षेत्रमा ठूलो सम्भावना छ । मान्छेहरु दिनप्रतिदिन फेसनप्रति कन्सियस हुँदै गएको र सबैलाई फेसनेबल कपडा नै लगाउन मनपर्ने भएकाले अहिले यो क्षेत्र चम्केको छ । ‘पहिलेभन्दा आजकल मान्छेहरु निकै स्टाइलिस्ट भएका छन् । पहिरनप्रति ध्यान दिन्छन् । त्यसैले बढी पैसा खर्च गरेर भएनि डिजाइनर लुगाहरु लाउन मन पराउँछन् ।’ उनले बताए । 

यसरी एकाएक फेसनमा मान्छेहरुको रुचि बढ्नुमा मनोरञ्जन क्षेत्रको ठूलो भूमिका छ । सागरका अनुसार नेपाली ग्राहकहरु प्राय इन्डियन सिरियल वा चलचित्रका कलाकारहरुको फेसनलाई अपनाउँछन् । इन्डियनहरुसँग हाम्रो शारीरिक बनावट, रंग, उचाइ मिल्ने भएकाले दुवै देशका मान्छेहरुलाई एउटै किसिमको फ्याब्रिक, डिजाइन, रंगका कपडाहरु सुहाउँछन् पनि । 

त्यसैले सागर मनिष मल्होत्रा, सव्यासाँची जस्ता इन्डियन डिजाइनरहरुलाई पनि फलो गर्छन् । यद्यपी, उनको आइडल भने प्रवल गुरुङ हुन् । सागरले पनि भविष्यमा प्रवलले जस्तै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने सपना बुनेका छन् । सपना पुरा गर्न उनी कटिबद्ध भएर लागेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?