पर्सनल र प्रोफेसनल जीवन कसरी सफल बनाउने ? रञ्जन खड्काका टिप्सहरु

सबै व्यक्ति खुसी हुन चाहन्छन् ।

आफ्नो जीवन आफूले गरेका काम र सामाजिक जीवनमा उत्तरदायी भूमिका निर्वाह गर्न चाहन्छन् । तर व्यक्तिगत र व्यवसायिक जीवन मिलाउनु वास्तवमा नै कठिन छ । अक्सर व्यक्तिगत जीवन सफल बनाएकाहरु व्यवसायीक जीवनमा चुक्छन् । व्यवसायीक जीवन सक्सेस हुनेहरु व्यक्तिगत जीवनमा । यो तितो यथार्थ हो । यसैको उपज हो पछिल्लो समय सुनिने सम्बन्धविच्छेद, पारिवारीक मनमुटाव, निराशापन, असफलता ।

***

तर रञ्जन खड्का (४५) आज यी दुवै जीवनबाट सफल छन् । बजारमा समयको परिपक्का मानिस र यति खोज्नु उस्तै भएको छ । यो वा त्यो बहानामा बेकामे मान्छेले पनि 'लेट' गरिदिन्छन् ।

एउटा मान्छेको कारण २० औँ मानिसको समय बर्बाद हुन्छ ।

हामी ‘ईट्स ओके’ भन्छौँ । तर रञ्जन खड्का ‘इट्स नट ओके’ भन्न रुचाउँछन् ।

परिवार, जागिर, खेलकुद, समाजसेवा समानान्तर रुपमा अगाडि लैजान सफल उनको मुहारको कान्ति जो कोहीको प्रश्न बन्छ । कसरी ?

यही प्रश्न हामीसँग पनि थियो । मल्टि डाइमेन्सनल रञ्जन खड्कासँग लोकपथ डटकमले २ घण्टा माग्यो ।   

आफूले जीवनलाई जति सकारात्मकता दिनसक्यो जीवनले त्यसको ठ्याक्कै डबल आफूलाई दिन्छ ।’ रञ्जन खड्काको भनाइ हो यो ।  

 

रञ्जन खड्का  ।

व्यक्ति एक आयाम अनेक ।

बैंकिङ क्षेत्रदेखि खेल क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि उनको फैलावट उत्तिकै व्यापक ।

त्यसैले उनको परिचय सानोतिनो आयातनमा अटाउँदै नअटाउने । दुईवटा डुङ्गामा खुट्टा राख्यो भने डुबिन्छ भन्छन् तर वर्षौंदेखिको उखानलाई नै उल्ट्याउँदै रञ्जनले व्यक्तिगत व्यवसायिक दुवै जीवनलाई सफलताको उचाइमा पुर्याएका छन् । र त उनको यो आयाम लोभलाग्दो तरिकाले अघि बढीरहेको छ ।

***

दुई दशकभन्दा बढी समय एभरेष्ट बैंकमा बिताएका उनी ९ महिनादेखि सेन्चुरी कमर्सियल बैंकमा चिफ मार्केटिङ अफिसरको रुपमा कार्यरत छन् ।

आफ्ना स्वर्गिय बुबा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा उनी आफैँले हरेक वर्ष राष्ट्रीय स्तरको महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

अझ प्रशंसनीय त उनी एक्लैले सिंगो प्रतियोगिता बेष्ट म्यानेजमेन्टमा फत्ते गर्छन् । यो चानचुने कुरा होइन ।

धेरैलाई अचम्म लाग्छ तर प्रतियोगिता अवधिभर एक एक मिनेटको जतन गर्न उनका परिवारका सदस्य समेत सजग भएर लागिदिन्छन् । र त रञ्जन मुस्कुराउँछन् ।

सफल छन् ।

भन्छन्, म जहिल्यै पनि 'टिम वर्कमा' ध्यान दिन्छु । गेम आयोजना गर्दाको मेरो टिम मेरो फ्यामिली हो । गेम हुनुभन्दा करिब ५ महिना अगाडिदेखि नै मेरो प्लानिङ सुरु हुन्छ । परिवारमा जमघट हुन्छ । योजना, चुनौती, बजेटिङ, मिति सबै कुराहरु आदानप्रदान हुन्छ ।

पितृको आर्शीवाद, आमाको माया, श्रीमतीको हौसला, छोराहरुको साथ, दिदीबहिनी ज्वाई र नजिकका आफन्तको महत्वपूर्ण सुझाव उनको सफलताको अचुक ओखती हो । भन्छन्, अधिकांश मानिसहरु यो वा त्यो कारण देखाएर बहानाबाजीमा चल्छन्, आफ्नो समय पनि बर्बाद अरुको पनि । तर प्लानिङ राम्रो भएको खण्डमा हरेक काम सफल हुने कुरामा दुईमत नभएको तर्क छ उनको । उनको बैंकिङ करिअर २२ वर्षमा प्रवेश गरेसकेको छ । तर उनले आफूभित्रको खेलप्रेमलाई जीवन्त राखेका छन् । भन्छन्, ‘खेल त जीवन हो ।’ 

उनीसँग खेल क्षेत्रमा यति धेरै सक्रिय हुनुका पछाडि खास कारण छ । रञ्जन आफै पनि कुनै समयका राष्ट्रिय खेलाडी हुन् ।

कहिलेकाहीँ उनको एउटा मन अनायासै खल्बलिन्छ जब उनी खेलाडी भएरै देशलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतनिधित्व गर्ने मौका नपाएको सम्झिन्छन् ।

यद्यपी, उनको अर्को मनले बिथोलिएको मनलाई सम्झाइहाल्छ, उनकै कारण आज धेरै खेलाडीहरुले अवसर पाइरहेका छन्, मानसम्मान र पहिचान पाइरहेका छन् भनेर । ‘आफू खेलाडी हुन सकिन त के भयो ? अरु खेलाडी जन्माउने अवसर पाएको छु । म त सन्तुष्ट छु ।’ मिलियन डलर्स स्माइल छर्दै उनले बताए ।

***

साँच्चै नै नहाँसे पनि हाँसेजस्तै लाग्ने कति हँसिलो अनुहार । उज्यालो भृकुटी अनि रसिलो व्यवहार । मिजासिला रञ्जन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

उनले विद्यालय निर्माण गर्ने देखि ज्येष्ठ नागरिकको सम्मान गर्ने, संघसंस्थामा आबद्ध भएर डोनेशन गर्ने, खेलाडीहरुका लागि निशूल्क प्रशिक्षणको व्यवस्था मिलाउने आदिजस्ता क्रियाकलापमार्फत् सक्रिय समाजसेवा गरिरहेका छन् ।

सामाजिक क्षेत्रमा काम गर्दा उनलाई आत्मसन्तुष्टि मिल्छ । ब्याङ्कर्स, ठूल्ठूला कर्मचारी, बिजनेस म्यान आदि काम गरुन्जेल मात्र सबैतिर सम्मानित हुन्छन्, परिचित हुन्छन् । तर हाम्रो माटोलाई हामीले के दिन सक्यौँ ? जीवनको उर्जावान् समयलाई कसै गरेरपनि सफल बनाउनुपर्छ र आफ्नो गाउँठाउँको उन्नतीमा लाग्नैपर्छ । यसपटक भने उनको अठोट प्रष्टै झल्कियो ।

 

 

प्रायजसो मानिसहरु रिटायरमेन्टपछि एकाएक हराउँछन् यो उनले नजिकबाट नियालेका छन्, देखेका छन् । भन्छन् ‘समाज सेवा भनेको भविष्यको लागि पनि हो । सबै क्षेत्रबाट सन्यास लिएपछि आफूले गरेको सामाजिक कामहरु हेर्दै आनन्दले जीवन बिताउँछु ।’ निर्धक्क हुँदै बोले उनी । 

***

दानी केटो : बाल्यकालका रमाइला किस्सा 

वि.सं २०३० मा भक्तपुरको बालकोटमा उनको जन्म भयो ।

बुबा शेरबहादुर खड्का त्यो बेलाको प्रधानपञ्च । आमा गमली खड्का गृहिणी । चार दिदी मुनिका रञ्जन ।

बाल्यकाल सुखसयलमै बित्यो । माया पनि सबैबाट भरपूर पाए उनले । तर, ओखाइपोखाइ माया पाएर मात्तिने प्रवृत्ति उनमा कहिल्यै देखिएन । बरु सानैदेखि उनी साह्रै सहयोगी र मनकारी ।

कुराकानीको सिलसिलामा बाल्यकालको एउटा रमाइलो घटना सुनाए उनले । 

''कुरा उनी ६ कक्षामा पढ्दाको हो । घर नजिकतिर खेल आयोजना भएको सुन्ने बित्तिक्कै घरबाट लुकीलुकी खेल हेर्न पुग्ने उनी एकपटक त्यसैगरी फुटबल म्याच हेर्न घर नजिकैको मैदानमा पुगे । गेम हेरे । जब गेम सकियो उपस्थित दर्शक हुटिङ गर्न थाले । उनले विजयी खेलाडीलाई नियाले । सुन्दर जीत पोल्टामा पारेर असिनपसिन खेलाडी मैदानबाहिर निस्किदै गर्दा रञ्जनको मनमा यतिधेरै माया र सम्मान भरिएर आयो कि तत्काल उनीहरुलाई केही दिउँ झैँ लाग्यो तर उनीसँग केही थिएन । खेलाडीप्रति सम्मानभाव भएको त्यो मन गोजीमा दाम नहुँदैमा कहाँ रोकिन सक्यो र ? उनी बेतोडले दौडँदै नजिकको दोकानमा पुगे । उधारोमा फ्रुटी किनेर ल्याए । विजयी टिमका १६ खेलाडीलाई मुस्कुराउँदै बाँडे । पसिनाले निथु्रक्क भएका खेलाडीले रञ्जनलाई हेरे । फ्रुटि लिए । पिइहाले । थाकेका खेलाडीले फ्रुटी पिएपछि थोरै भएपनि राहत महशुस गरे । यही नियाल्न लालायित रञ्जनको मनमा आनन्दको भाव पैदा भयो । ''

त्यसको एक दुई दिनपछि तिनै दोकानका साहुले बुबासँग पैसाको कुरा गरेछन् । बुबा प्रधानपञ्च अलिक कडा स्वभावको हुनुहुन्थ्यो । त्यसरी उधारो कारोबार गरेकोमा बुबाले उनलाई सम्झाइबुझाइ पाराको गाली पनि गरेछन् । तर, त्यसरी विजयी खेलाडीहरुलाई फ्रुटी खुवाएकोमा आफूले पाएको सन्तुष्टि भने उनी शब्दमा बयान गर्न सक्दैनन् । ‘मान्छे मात्रै सानो, मन त ठूलै हो नि मेरो पहिल्यैदेखि ।’ उनले हाँस्दै भने । 

खेलाडी रहिन तर, खेल क्षेत्र छोडिन

त्यसो त उनले आफै पनि ८ कक्षामा पढ्दादेखि नै भलिबल खेल्न शुरु गरेका हुन् ।

भलिबल मात्र नभएर उनी हरेक खेलमा उत्तिकै सक्रिय थिए सानैदेखि । तर, भलिबलप्रति उनको विशेष रुचि बढ्दै गयो ।

रहर त उनलाई अन्तर्राष्ट्रिय स्तरमै नेपालको प्रतिनिधित्व गर्ने थियो तर, पढाइ, करियरलाई प्राथमिकता दिने हुँदा उनले खेललाई पुरै समय दिन सकेनन् । वा भनौँ तत्कालीन परिवेशलाई मध्यनजर गर्दा भलिबललाई करियर बनाउने कुरा त्यति उपयुक्त लागेन उनलाई ।  

त्यसैले, खेलाडीका रुपमा उनी राष्ट्रिय स्तरीय गेममा मात्रै सिमित रहे ।

आफ्नो खेलाडी बन्ने सपना पूरा नभएकाले पनि उनी अहिले कैयौं खेलाडीहरुको सपना पूरा गर्न लागिपरेका छन् ।

कमसेकम वर्षको एकपटक एकजना व्यक्तिको नेतृत्वमा खेलाडीहरुले मैदान पाएका छन् ।

विशेषत छोरीहरुले । उनकै पहलमा पहिलो पटक राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिताको आयोजना सफल भयो ।

त्यसपछि हरेक वर्ष हुने भलिबल प्रतियोगितामा उनले बैकिङ क्षेत्रलाई पनि संलग्न गराए ।

अहिले उनी खेल क्षेत्र र बैकिङ क्षेत्रबीचमा पुलको काम गरिरहेका छन् । नीजि क्षेत्रलाई खेलकुदमा ल्याउने उनको सोच सफल भएको छ । 

 

वर्षेनी आयोजन गर्ने महिला भलिबललाई अझ सशक्त बनाएर निरन्तरता दिने योजना त छँदैछ । उत्कृष्ट ६ राष्ट्रिय खेलाडीलाई महिनाको २ हजारको दरले छात्रवृत्ति प्रदान गर्नेदेखि, खेलाडीहरुको वर्षभरिको प्रशिक्षण खर्च जुटाउनेसम्मका क्रियाकलाप मार्फत् उनले खेल क्षेत्रलाई सहयोग पुर्याइरहेका छन् ।  

‘टाइम म्यानेज्मेन्ट’ मूल मन्त्र 

खेलाडी हुने सपना देखेका रञ्जनलाई आफ्नो इच्छा पूरा नभए पनि कुनै गुनासो छैन ।

उनी बढ्ता दंग त खेलाडीले दिएको 'धन्यवाद' शब्दमा छन् ।

बैंकिङ क्षेत्रलाई पनि उत्तिकै जिम्मेवारीपूर्ण ढङ्गले समेटेर लगिरहेका छन् ।  ‘भाग्यले इच्छा पूरा गरिदिँदैन तर, हामीले त भाग्यको इच्छा पूरा गर्न सक्छौं नि ।’ उनले बडो सकारात्मक कुरा गरे । त्यसैले उनले पनि भाग्यले आफूलाई पस्केर दिएको चीजलाई मीठो मानेर ग्रहण गरे । गरिरहेका छन् पनि । 

जीवन कसरी जिउने भन्ने जानेर पनि होला उनले जिन्दगीलाई सधैं न्यानो तरिकाले अँगालेको र प्रतिक्रियामा जीवनबाट झनै न्यानो अँगालो पाएको । त्यसैले भाग्यको इच्छा सँगसँगै उनको इच्छा धेरै हदसम्म पूरा भएको छ ।

रञ्जन आफूले आयोजना गरेका गेमहरुमा सम्भव भएसम्म आफ्ना परिवारलाई लिएर पुग्छन् । जीवनका हरेक पाटोलाई टमक्क मिलाएर लैजान सफल रञ्जन भन्छन् ‘टाइम म्यानेज्मेन्ट नै मेरो मूल मन्त्र हो ।’ समयलाई लिएर आफू जति कन्सियस छन् उनले आयोजना गर्ने कार्यक्रममा आउने अतिथिहरु पनि उति नै सचेत भएर सधैं समयमा नै उपस्थित हुन्छन् । यो उनैले थालेको थिती हो । 

उनको मिजासिलो, हँसिलो व्यवहार र व्यवस्थापन शैलीले गर्दा नै जुन क्षेत्रमा हात हाल्यो त्यसैमा सफल हुन सफल छन्, उनी ।

बिहान उठेर आमा र आफ्नो लागि चिया बनाउँछन् ।

केही समय शारीरिक व्यायामका लागि छुट्याउँछन् । ब्याडमिन्टन खेलेर फर्किएपछि श्रीमतीसँग बसेर चिया पिउँछन् ।

खाना खाएर काममा जान्छन् । बेलुका सधैं आमासँगै खाना खान्छन् । बुबाको निधनपछि उनले आमालाई एक्लो महसुस हुन दिएका छैनन् । श्रीमती सीता ले साँच्चै उनलाई राम बनाएकी छिन् । 

विवाहबारे जान्न मन लाग्यो । हामीले प्रश्न तेर्सायौँ । 

मिलेका दाँत देखाएर उनले सुनाए, मागी विवाह भयो हाम्रो । उनले उपहारस्वरुप रसिन र राजिभ दुई छोरा दिएकी छिन् । उनका दुवै छोराहरु पढाइ सँगसँगै व्यवसायमा पनि सक्रिय छन् । दाजुभाइ मिलेर ‘इभन्ट म्यानेज्मेन्ट’ कम्पनी खेलेका छन् । अहिले धेरैले उनीहरुको नामबाट रञ्जनलाई चिन्छन् । यसमा दङ्ग छन् उनी ।

‘मेरो बुबाको ‘लिडरसिप’ क्षमता मलाई र मेरो मेरा छोराहरुलाई सरेको होला ।’ उनीभित्रको जिम्मेवार छोरा र गर्वमान्वित बाबु एकैसाथ बोले । म, आमा, श्रीमती र छोराहरु मिलेर प्लान बनाउँछौँ । उनले खुलाए ।

खड्का परिवार मिलेर सामाजिक कार्यलाई अघि बढाइरहेका छन् । रञ्जन छुट्टीको दिन पनि प्राय खेलसम्बन्धि र सामाजिक कार्यसँग सम्बन्धित काममै व्यस्त हुन्छन् । आफ्ना बाबुको निधनपछि उनले पशुपतिमा शैंया दान गर्ने देखि आफू जन्मेको ठाउँ अर्थात् बालकोटमा विद्यालय निर्माणका निमित्त १ लाख भन्दा बढी आर्थिक सहयोग, रेडक्रस भवन निर्माणका लागि १ लाख बराबरको सहयोग, नेपालमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा ५० हजार बराबरको पुरस्कार राशी दिएर आदि गर्दै सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् ।

आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनको सामञ्जस्य कायम गर्न कोही उनीबाट सिकोस् । सफलताका केही टिप्सहरु दिनुस् न हामीले अनुरोध गर्यौँ । मन्ध मुस्कुराउँदै उनी सहमत भए । 

१.होमवर्क

२.हार्डवर्क

३.टिमवर्क

४.नेटवर्क

असल छोरा, उत्कृष्ट पति, लोभलाग्दो पिता, सक्सेसफूल इम्प्लोइ, सातपुस्ताले नबिर्सने माईती हुन् उनी ।

आफूलाई सबै रोलमा पर्फेक्ट सावित गर्न सफल देखिन्छन् ।

जति व्यस्त भयो जीवन उति नै रमाइलो हुने उनको विश्वास छ । ‘मान्छेसँग जति धेरै फ्री टाइम भयो उति नै काम नगर्ने, भरै गर्छु भन्दै टार्ने बानी पर्छ ।’ उनले भने ।

‘आफ्नो व्यस्त जीवनमा लुकेको खुसीलाई खोजेर निकाल्नु मै त मजा छ नि होइन र ?’

यसो भन्दै गर्दा उनको उज्यालो मुहारमा झनै उज्यालो थपियो । 

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?