विश्व बैंकद्वारा नेपाललाई २३ अर्ब सहुलियत ऋण सहयोग

काठमाडौं । विश्व बैंकले नेपाललाई २३ अर्ब सहुलियत ऋण सहयोग गर्ने भएको छ । 

नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न विश्व बैंकले करीब २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो । 

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।

अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ । 

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे । उनले नेपालको थप राजश्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भूकम्पपछिको पुनर्निर्माण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?