असोज १५ गतेबाट हटएयर बेलुन पुनः सञ्चालनमा आउने

लोकपथ
35
Shares

काठमाडौं । पोखरामा हट एयर बेलुन अक्टोबर १ अर्थात असोज १५ गतेदेखि पुनः सञ्चालनमा ल्याउने गरि तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बेलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलटसमेत नेपाल आइसकेको बेलुन नेपालका सञ्चालक विक्रम बाडेले जानकारी दिए ।

हट एयर बेलुनका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन् । उनी युरोपेली मुलुक लुथानियाका नागरिक हुन् । बेलुन नेपालका सञ्चालक बाडेका अनुसार ‘नेपालमा हट एयरको पाइलट नभएकाले युरोपबाट पाइलट बोलाउनु परेको हो ।’

बेलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ । उडान अवधि ३० देखि ४० मिनेट हुन्छ । यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको बाडेले जानकारी दिए ।

बेलुन नेपालले सन् २०१८ नोभेम्बरबाट हट एयर बेलुन उडान सेवा सुरु गरेको हो । तर, कोभिडका कारण केही समय बन्द गरिएको बेलुन आगामी दिनमा यसलाई निरन्तरता दिइने बाडे बताउँछन् । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भर्ने योजना रहेको उनले जानकारी दिए ।

हट एयर बेलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिने छ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बेलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृंखलाको अदभूत दृश्यावलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?