गुञ्जिदैनन् ‘चाचाहुइय’, बाटिँदैनन् बाबियोका पिङ

युवा खाडीमा परिवार सम्झँदै

हावाले दशैं आयो भनेर सङ्केत गरिसक्यो । वातावरण विस्तारै दशैंको माहोलमा पुलकित हुँदैछ । दशैंको रमझम शुरु भएसँगै गाउँघरमा पिङ हाल्ने कुरा चल्नुपर्ने हो । चलिरहेको छ । तर, पहिलेभन्दा निकै कम । पिङ खेल्ने परम्परा आंशिक रुपमा ओझेलमा पर्दै गएको अनुभव गर्न सकिन्छ । 

नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘पिङ’ । दशैंमा पिङ खेल्ने परम्परा पनि यसै अन्तर्गत नै शुरु भएको हुनसक्छ । 

जे होस् दशैंमा पिङको रौनक नै छुट्टै । पिङ नखेली पनि दशैं मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? सिधा र प्रष्ट तरिकाले भन्ने हो भने, पिङ र दशैं पयार्य हुन् । दशैंमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका पिङले नै खेलेको हुन्छ ।

दशैंमा पिङ खेल्नैपर्ने परम्परा ठ्याक्कै कहिले, कहाँ र कसरी शुरु भयो भन्न नसकिएतापनि यसको इतिहास निकै लामो छ । जबदेखि दशैं मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै शुरु गरिएको हो भनेर धेरैले लख काटेका छन् । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन हो । आकाशचुम्ने लिङ्गे पिङको टुप्पो कटाउन मच्ची मच्ची खेलिरहेको दृश्यले मात्र दशैंलाई निम्तो दिएजस्तो लाग्छ । यही निम्तो पाएपछि मात्रै दशैं पनि टुप्लुक्क हाम्रो दैलोमा आइपुग्छ ।    

फ्ल्याश ब्याक टु दशैं 

हरेक वर्ष दशैंमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरुको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपियाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्राय ‘फिक्स्ड’ नै हुन्थ्यो । कि साझा चौर या मन्दिरको प्राङ्गण । सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्त्व दिइन्थ्यो ।

दुई प्रकारका पिङहरुको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्त्वलाई संस्कृतिले नै जगेर्ना गरेको छ ।

लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपाते जस्ता फूलहरु राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरुले पिङ खेल्ने चलन भएतापनि युवा वर्गहरु पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे । सिङ्गल र डबल दुवै तरिकामा उत्तिकै फिट । 

बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीहरुको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ?’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ ।

त्यस्तै रोटे पिङ बनाउन अलिक बढी मिहिनेत, जनशक्ति र खर्च लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । अहिलेजस्तो, फलाम र अन्य आधुनिक सामाग्री प्रयोग गरेर भन्दा पनि काठ, डोरी जस्ता स्थानीय वस्तुहरु प्रयोग गरेर बनाइने रोटे पिङमा एकैसाथ धेरैजना मानिसहरुले खेल्न पाउँथे । 

पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यी सबैको छुट्टै रमाइलो थियो एकादेशको दशैंमा । अहिले समय बद्लियो र समयसँगै दशैं पनि । 

बाटिँदैनन् पिङ

अहिले दशैंमा बाटिँदैनन् बाबियाको लठारो । गाढिँदैनन् बाँसका खम्बाहरु । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया’ गुञ्जिँदैन आजकल । समयले दशैंलाई पनि आफूसँगै फेरिदिएको छ । र, यस परिवर्तनले दशैंको आत्मालाई नै कुल्चिएको छ भन्दा पनि फरक नपर्ला ।

अहिलेका बालबालिकाहरुलाई लिङ्गे पिङको महत्त्वका बारेमा त धेरै टाढाको कुरा हो यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन । उनीहरुले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैंमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो’ ।’ यही अभिव्यक्तिले उनीहरुको मस्तिष्कमा छाप पारेको छ ‘दशैंमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरु घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको डिमान्ड पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् । 

किन बिलायो ‘पिङ कल्चर’ ?

लिङ्गे पिङ, रोटे पिङ बनाउनलाई खुल्ला ठाउँको आवश्यकता पर्छ । साथै पर्याप्त समयको पनि । तर, न हामीसँग छेलोखेलो जमिन छ न त समय नै । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन र पर्याप्त समयको अभाव भएकाले पनि दशैंमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको हो ।  

त्यो बेला गाउँ सुन्दर थियो किनकि त्यहाँ मान्छे थिए । अहिले गाउँ सुनसान छ । ग्रामीण भेगमा मानिसहरुको बसोबास पातलिँदै गएको छ । गाउँका होनहार, सक्रिय जनशक्ति नै रोजगारका लागि विदेश पलायन भएपछि पिङ लगाउने को ? अनि खेल्ने को ? वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरुले एकाएक ‘हवाइजहाज’को उडान भर्न थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो ।

फेरि, पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरु समयमै उपलब्ध नहुने र ती सामाग्रीहरु प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यार लाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको कतिपय युवाको गुनासो छ ।

त्यस्तै, मानवजीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषीको संज्ञा दिन सकिन्छ । प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरुलाई । अहिलेका सोखिन मानिसहरु चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् ।

दशैंलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ । यसरी दशैं सामूहिक पर्व भन्दा पनि ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोपान्मुख हुँदै जानु स्वभाविक हो ।

संस्कृतिविद यसो भन्छन् 

आखिर किन रित्तिए चौर ? किन हराए पिङ ? यही जिज्ञासा हामीले संस्कृतिविद तथा वाल्मिकी विद्या पीठका प्राचार्य डा. गणेश घिमिरेसँग राख्यौं । उनले सजिलै उत्तर दिए ‘प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमी । यी तीन मुख्य कारण हुन् ।’ उनका अनुसार अहिलेको पिडी सुखसयलको भोगी छ । संस्कृति, परम्परालाई अवलम्बन गर्नु झन्झटिलो लाग्छ उनीहरुलाई । त्यसैले उनीहरु पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो ।’ उनले थपे ।

डा. भन्छन् ‘यो पिडीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ ! यद्यपी अहिलेको पिडीलाई नै सबै दोष दिन मिल्दैन । पहिलाको पिडीले बुझाउन सकेन, अहिलेकाले बुझ्न चाहेनन् । कुरा यही हो ।’


 

Leave a comment