शनिबारदेखि ‘ए’ डिभिजन लिग स्थगित, मंसिर पहिलो साताबाट पुनः शुरु हुने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिवारदेखि स्थगित हुने भएको छ । 

शुक्रवारको दुई खेलसँगै पहिलो चरणको खेल सम्पन्न हुने भएकाले लिग स्थगित गर्ने एन्फाले जानकारी दिएको छ । 

असोज १३ गतेदेखि औपचारिक  रुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः सञ्चालन भएको थियो ।  पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने एन्फाले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि मात्र सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । 

“पहिलो चरणका खेलहरु सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ ”, लिग निर्देशक सञ्जिव मिश्रले भने । 

लिगका खेलहरू १३ चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख प्राप्त गर्नेछन् । 

लिगको चौथो टोलीले १५ लाख, पाँचौ टोलीले सात लाख र छैटौंले  पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् ।

प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए ।  

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम 'एनआरटी', ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?