सेलिब्रेटीको दशैँ: जो मासु खान्छन्, तर बलि प्रथाको विरोध गर्छन्

काठमाडौं । जब–जब दशैँ नजिक आउँछ, तब नेपालमा हुने बलि प्रथाको विदेशमा समेत विरोध हुने गर्दछ । पछिल्लो केही वर्षयता पशु अधिकारकर्मीहरुले दशैँमा बलि प्रथाको विरोध गर्न शुरु गर्न थालेका छन् । अर्कातिर दशैँको मुखमा विरोध गर्नेमा सबै शाकाहारी नहुने, मासु खाएर बलि प्रथाको विरोध गरेर सतहमा आउन खोज्ने भन्दै बलि प्रथाको विरोध गर्नेहरुलाई अर्काथरीले विरोध गर्ने गर्छन् । वर्षभरिमा सबैभन्दा बढी बलि प्रथाको विरोध दशैँमा नै हुने गर्छ । यद्यपि पशुको काटमार भने वर्षैभर भइरहन्छ ।

एकातिर विरोध र अर्कातिर समर्थनका बीच बलि बलि प्रथा र दशैँको महत्त्वका बारेमा केही कलाकारलाई सोधेका थियौँ ।

प्रायः सेलिब्रेटीले आफूहरु बलि प्रथाको विरोधमा भएको बताएका थिए । तीमध्ये निकै कम मात्र शाकाहारी थिए । दशैँ र बलि प्रथाबारे के भन्छन् त कलाकार?

प्रियंका कार्की, नायिका

दशैँ चाडमा प्रियंका कार्कीलाई खासै महत्त्व छैन । पहिले टीका लगाउने चलन मुख्य हुन्थ्यो भने अहिले परिवार भेट्दा रमाइलो हुन्छ । यसपालिको दशैँमा चाहिँ उनको आधा समय न्युजिल्याण्ड र आधा समय काठमाडौंमा हुने भयो । टीकाको एक दिन मात्र आउने गरी आफू कार्यक्रमका लागि बाहिर जान लागेको प्रियंका बताउँछिन् । फर्किनासाथ परिवार र आफन्तसँग टीका थापेर दशैँ मनाउने उनको योजना छ । बलि प्रथाका बारेमा भने उनी विरोध जनाउँछिन् । तर उनी मासु नै खाँदै नखाने होइनन् । ‘बलि प्रथाको म चाहिँ विरोधी नै हो, चिकेन बाहेक अरु मासु खाँदिन ।’, उनी भन्छिन् ।

खगेन्द्र लामिछाने, अभिनेता

अभिनेता खगेन्द्र लामिछानेलाई यतिबेला दशैँको रौनकले खासै छुन्न । बरु आफू अभिनित फिल्म ‘जय भोले’ को प्रचारमा व्यस्त छन् उनी । पहिलेजस्तै यसपटक पनि दशैँको अवसर पारेर स्याङ्जास्थित जन्मघर केही दिनका लागि जाँदैछन् । ‘घरतिर रमाइलो हुन्छ तर धेरै बस्न पाइँदैन, फिल्मको रन्को छ’, खगेन्द्रले भन्छन्, ‘दशैँमा साथीभाइ भेट हुन्छन्, रक्सी खाइँदैन, भेटघाट र रमाइलो नै हो, तर केटाकेटीको जस्तो रमाइलो त अहिले कहाँ हुनु र !’

जितु नेपाल, हास्यकलाकार

जितु नेपालका लागि चाहिँ दशैँ महान चाड हो । सोह्र श्राद्ध गरेर मृत आत्माहरुलाई सम्झेपछि मात्र देवीको पूजा गरिने भएकाले उनलाई दशैँ अझ विशेष लाग्छ । उनलाई दशैँले परिवारबीच एक–आपसमा मेल गराउँछ भन्ने लाग्छ । दशैँमा लगाउने टीकाको पनि महत्त्व भएको जितु बताउँछन् । बलि प्रथामा चाहिँ जितुले पनि विरोध गर्ने गर्छन् । ‘बलि प्रथाको म ठूलो विरोधी हुँ, यसकारण म हुनुहुँदैन, बलि दिएर भगवान् खुशी हुन्छन् भन्ने छैन, मैले आजसम्म केही मारेको छैन ।’, जितु सुनाउँछन् ।

जितु शाकाहारी चाहिँ होइनन् । ‘मैले मासु खान्न भन्ने छैन, तर बलिप्रथाको घोर विरोधी हुँ, बिस्तारै शाकाहारी हुने योजना बनाइरहेको छु’, उनी भन्छन्, ‘मासु त खान्छु तर आफै काटेर खाँदिनँ ।’

दशैँमा जितुलाई पिङ खेल्न पनि उत्तिकै रमाइलो लाग्छ । उनको गाउँ सिन्धुपाल्चोकमा रुखमा बाबियोको पिङ हालेर खेल्ने चलन थियो । पहिलोपटक दक्षिणामा पाँच रुपैयाँ पाउँदा उनलाई निकै खुशी लागेको थियो । 

दीपेन्द्र के खनाल, निर्देशक

दीपेन्द्र के. खनाल पनि बलि प्रथाको चाहिँ बलि प्रथाको विरोधी भएको स्वीकार्छन् । ‘बलि प्रथामा धर्म जोडिएपछि खुलेर विरोध गर्न नमिलेजस्तो हुँदो रहेछ, यो कसैले तत्काल हटाइहाल्न चाहिँ सक्दैन, अहिले गलत हो भनेर हटाउन सम्भव छैन ।’, खनाल भन्छन्, ‘बिस्तारै बलि प्रथालाई कसरी हटाउने भन्नेबारेमा चाहिँ सोच्नुपर्छ, समयअनुसार परम्परा बदल्नुपर्छ ।’
बलि प्रथाको विरोध गरे पनि दीपेन्द्र शाकाहारी भने होइनन् ।

खनाललाई दशैँ किन पनि विशेष लाग्छ भने एक वर्षसम्म नभेटेका साथीहरुसँग भेट हुन्छ । रमाइलो हुन्छ । तर उनको दशैँलाई लिएर एउटा फरक धारणा छ । दीपेन्द्र भन्छन्, ‘महंगीले दशैँलाई धेरैको दशा बनाइदिएको छ, मेरो विचारमा वार्षिक रुपमा भन्दा पनि तीन वर्षमा एकपटक दशैँ मनाउने हो भने उचित हुन्छ होला ।’

साथै उनले आफ्नो बाल्यकालको घटना स्मरण गर्दै भन्छन्, ‘दशैँमा पिङ खेल्ने क्रममा दाइहरुले जोडले मच्चाउँदा म लडेको थिएँ, दशैँ आयो कि, त्यही घटना याद आउँछ ।’

कमल देवकोटा, कलाकार

कलाकार कमल देवकोटालाई चाहिँ दशैँ त्यस्तो महान चाडझैँ लाग्दैन । यसको कारण उनको मामाघर टाढा छ । बाल्यकालमा उनले मामाहरुसँग टीका लगाउन पाएनन्, शायद त्यसैले हुनुपर्छ, अहिले पनि दशैँ भनेपछि खासै रमाइलो लाग्दैन । बरु उनलाई तिहार रमाइलो लाग्छ । ‘मामाहरु सिलोङमा हुनुहुन्छ, अरु मामाघर गएको देख्ने तर आफू जान नपाउने भएर होला, दशैँ खासै ठूलो लाग्दैन, सबैलाई दशैँ मान्न पठाएर घर कुर्ने मै हुन्छु’, कमल भन्छन्, ‘बिहानमा जमघट गर्ने, टीकाटालो गर्ने समय चाहिँ रमाइलो लाग्छ ।’

देवकोटा मांसाहारी हुन् तर उनी बलि प्रथालाई चाहिँ नकारात्मक रुपमा हेर्छन् । ‘बलि प्रथा त्यति राम्रो देखिँदैन, यसलाई सकेसम्म कम गर्दा ठीक हुन्छ भन्ने लाग्छ, मासु चाहिँ खाइन्छ ।’, उनी भन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?