टि-२० विश्वकप एशिया क्वालिफायरमा नेपाल च्याम्पियन

काठमाडौं । नेपाल आईसीसी टि-२० विश्वकप एशिया क्वालिफायरको च्याम्पियन बनेको छ । 

क्वालालाम्पुरस्थित बायुमास क्रिकेट मैदानमा शुक्रवार भएको एशिया ‘पूर्वी’ छनोटमा सिंगापुरलाई पछि पार्दै विजेता बनेको हो । 

सिंगापुरविरुद्धको खेलका दौरान वर्षाले प्रभावित बनेको खेल पुरा हुन नसकेपछि रनरेटको आधारमा नेपालले उपाधि आफ्नो पोल्टामा पारेको हो । नेपाल र सिंगापुरले समान १०—१० अंक बनाएको थियो । तर रनरेटमा नेपालले सिंगापुरलाई पछि पार्दै प्रतियोगितामा विजेता बन्दै खेलको अन्त्य गरेको हो ।

प्रतियोगिता नेपाल विजेता, सिंगापुर उपविजेता थता मलेसिया तेस्रो हुँदै अघिल्लो छनोट चरणमा प्रवेश गरेका छन् । तीन वटै टिम मलेसियामा नै हुने टि-२० विश्वकप क्वालिफायरको एशिया दोश्रो चरणमा प्रवेश गरेका छन् । 

नेपाल, सिंगापुर, मलेसिया, यएई, कुवेत र कतार एशिया छनोटमा छानिसकेका छन् । एशिया छनोटबाट उत्कृष्ट २ टिमले टि-२० विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछन् । 

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो । 

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान एस चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । उनले ३२ बलमा तीन चौका प्रहार गरे । मानप्रित सिंहले १० रन, कप्तान सिआर सुर्यवन्सी र ए मुत्रेजाले समान ९-९ रन जोडे । पहिलो नम्बरमा ब्याटिङ गर्न आएका अरित्र दत्त ४ रन बनाएर पेभेलियन फर्किए ।

 सिदान्तले १० रन तथा कुमार्गले ९ रन बनाएर आउट भए । जनक प्रकाशले १ रन तथा कृष्ण शुन्य रनमा नै आउट भए । 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट हात पारे । त्यस्तै करण केसी र सोमपाल कामीले समान २-२ विकेट लिए । ललित राजवंशी र बसन्त रेग्मीले एक—एक विकेट लिन सफल भए । 
८२ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले तीन बलमा १ विकेट गुमाउँदै १ रन बनाएको स्थितीमा वर्षा भएपनि खेल केही समयको लागि रोकिएको थियो । तर वर्षा नरोकिएपछि रनरेटको आधारमा नेपाल च्याम्पियन बनेको हो ।

नेपालले सन् २०१४ पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?