क्लबमा विदेशी खेलाडीको कमी देखियो : प्रशिक्षक ब्रिगेट ब्वाइज

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मनाङ मस्याङदी क्लबले विजयी शुरुवात गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको दोस्रो खेलमा मनाङ मस्याङदी क्लबले ब्रिगेट ब्वाइज क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

खेलको ३७ औँ मिनेटमा ब्रिगेट व्वाइजका रजक तिवारीले उत्कृष्ट गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनले डि बक्स बाहिरबाट प्रहार गरेको बललाई सहि दिशा दिदै गोल पोष्टको जाली चुमाए । पहिलो हाफसम्म दवावमा रहेको मनाङले दोस्रो हाफमा भने खेलमा उत्कृष्ट पुनरागमन गर्दै बराबरी गोल फर्कायो ।

खेलको ४७ औँ मिनेटमा मनाङका लागि हेमन गुरुङले गोल गर्दै खेललाई एक-एक गोलको बराबरी ल्याए । त्यस्तै ५७ औँ मिनेटमा ओलाओलेले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्‍याए । 

दोस्रो हाफमा उत्कृष्ट लयमा फर्कदै मनाङका लागि खेल सकिनै लाग्दा ओलाओलेले व्यक्तिगत दोस्रो तथा क्लबका लागि अन्तिम गोल गरे । जीतपछि मनाङले महत्वपूर्ण ३ अंक बटुलेको छ । 

यता ब्रिगेट ब्वाइज क्लबका मुख्य प्रशिक्षक उज्जन श्रेष्ठले मनाङसँग राम्रो खेल खेलेको बताए ।

‘‘हाम्रो टिममा प्राय सबै यू-१७ का खेलाडीहरु छन्, ३, ४ जनामात्र सिनीयर खेलाडी छन्, हामीले दोस्रो हाफको १० मिनेटमा खेलाडीहरुले रोकेको भए, खेलमा परिवर्तन आउन सक्थ्यो, खेलाडीहरुमा अनुभवको कमी देखियो, ठिकै खेल्यो खेलाडीहरुले केही भएपनि मनाङविरुद्धको खेलबाट सिक्ने मौका पायो’’ उनले बताए । 

 

तस्वीर : गोल नेपाल

साथै, मुख्य प्रशिक्षक श्रेष्ठले क्लबमा विदेशी खेलाडीको कमी भएको समेत जानकारी दिए ।

‘‘मनाङका विदेशी खेलाडीले ओलावलेले हाम्रो क्लबलाई दवाव दिदैं दुई गोल गरे, हाम्रो क्लबमा पनि आज विदेशी खेलाडी भएको भए उत्तिकै टफ खेल खेल्न सक्थ्यो, अर्को खेलमा अवश्य पनि हामीहरु राम्रो खेल्नेछौँ’’ उनले थपे । 

त्यस्तै, मनाङ मस्याङदी क्लबले सहायक प्रशिक्षक सुमन श्रेष्ठले सोच अनुरुप नभएको बताए ।

‘‘खेलको १० औँ मिनेटमा नै राम्रो खेल खेल्ने भन्ने रणनीति बनाएका थिए, तर सोचे अनुसार खेल खेल्न सकेनौँ, हाम्रो सेट पनि नमिलेको अनुभव भयो, तर पनि हामीले ३ अंक पाएका छौँ, पहिलो हाफसम्म ५०-५० खेल्ने भन्ने थियौँ त्यो अनुसार प्रर्दशन गर्न नै सकेनौँ’’ उनले बताए । 

मनाङ मस्याङदी र ब्रिगेट ब्वाइज क्लबबीचको खेलसँगै लिग अन्तर्गत पहिलो चरणको खेलहरु सम्पन्न भएको छ । यो खेलसँगै ए डिभिजन लिग पुनः एक महिनाको लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ । लिग मंसिरको पहिलो साताबाट शुरु हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?