दशैँ छुट्टिमा हाईकिङ जाने ? थाहा पाईराखौँ नजिकका ‘डेस्टिनेसन’

निलो आकाश, चिसो बतास, चराको चिरबिर आवाज, अनि मदहोश पार्ने मौसम । त्यसमाथी आफ्नो आँखाले कहिल्यै नदेखेका रोचक अनि घमाईलो ठाउँ । त्यसमाथी गाउँको परिवेश, खुलेका मुस्कान । ति मुस्कानका धनीहरुसँग सँगै पसिना चुहाउँदै उकाली–ओराली गर्न मन छ ?  

त्यसो भए हाईकिङको लागि तयार हुनुहोस् । 

काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडाकाँडा छन् । जता चढे पनि हुन्छ । आजभोलि महिनाको एकपटक हाइकिङ गर्ने परम्पराको विकास हुँदै गएको छ । कलेज लाईफमा एक दुई पटक हाईकिङ नगए के मज्जा ? अचेलका कलेजका तन्नेरीहरुले ‘ईजी’ लवजमा यसो भन्न थालीसके । 

काठमाडौं उपत्यकामा मात्र नभई देश भरिनै हाइकिङ एउटा संस्कृतिको रुपमा विकास भइरहेको छ । विदाका दिनमा वरपरका डाँडापाखामा भेटिन्छन् हाइकर्सहरु । सामान्यत ः एक दिन हिड्नुलाई हाइकिङ र एक भन्दा बढी दिन हिँड्नुलाई ट्रेकिङ भनिन्छ । 

लोकपथ डटकमले हाईकिङ जान तपाईलाई सहयोग पुग्ने नजिकका केहि डेस्टिनेसनहरु पस्केको छ । 
फुल्चोकी


काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा हो, फुल्चोकी । बर्षैभरि शीतल हुने डाँडाको थाप्लोमा हिन्दुहरुको आस्थाको केन्द्र फुल्चोकी मन्दिर र बौद्धमार्गिको चैत्य छ । त्यसैले यसलाई हिन्दु र बौद्धमार्गीको साझा तिर्थ पनि भनिन्छ । पुस–माघमा यो डाँडामा हिउँ पर्छ । त्यो समय हाईकिङ भन्दापनि हिउँ खेल्न पुग्नेहरुको भिड लाग्छ । 
सूर्योदय र सूर्यास्त हेर्न फुल्चोकी उपयुक्त छ । फुल्चोकीबाट काठमाडौ, भक्तपुर र ललितपुरका दृश्य देखिन्छ । रमणीय छ, फुल्चोकी । चिसो चिसो बतास चल्छ । डाँडामा हवाइजहाजलाई सिग्नल दिने र टेलिभिजनलाई सिग्नल पठाउने टावर छ । त्यहाँ सैनिक क्याम्प छ । 
लाकुरी भञ्ज्याङ
ललितपुर जिल्लामा रहेको लाकुरी भञ्ज्याङबाट निकै मनमोहक हिमालका दृश्यले घेरेको काठमाडौंलाई नियाल्न सकिन्छ । त्यहाँबाट देखिने दृश्य संसारको सबैभन्दा सुन्दर ठाउँ जस्तो लाग्छ । किनकी यो स्थान हाईटमा छ ।

पछिल्लो समयमा युवा पुस्ताको पहिलो रोजाइमा परेको छ लाकुरी भञ्ज्याङ । त्यहाँ पुगेर सोच्दा लाग्छ, लाकुरी भञ्ज्याङले काठमाडौंँलाई हरेक पल हेरिरहेको छ । साथै काठमाडौँको कोलाहलमा बसेका शहरबासिलाई नजिकैको यो गन्तब्यले केहि आनन्द दिन सक्छ । फेरि यहाँ पुग्न धेरै खर्च, लामो समय लाग्दैन । 

दल्चोकी

दक्षिणी ललितपुरको शीतल गन्तव्य होे–दल्चोकी । जहाँ मन र मस्तिष्क दुवै शान्त र शीतल बन्छ । डाँडाबाट सूर्यादय र सूर्यास्त राम्रो देखिन्छ । आकाश उघ्रिएका बेला अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर लगायत हिमाली शृङखलाहरु देख्न सकिन्छ । दल्चोकी डाँडामा मनकामनाको मन्दिर पनि छ ।

दल्चोकी जंगलको बाटो भएकाले यात्रा गर्नुपर्ने भएकाले चितुवा, मृग, वनबिरालो, खरायो, कालिजलगायत जीवजन्तुहरु पनि भेटिन सक्छन् । केहि ठूलो ग्रुप बनाएर जानुभयो भने यहाँको यात्रा पनी रोचक हुनसक्छ । 

नमोः बुद्ध

धुलिखेलबाट वी.पी राजमार्ग आठ किलोमिटर हिँडेपछि काभ्रे भञ्ज्याङ्गबाट शुरू हुने कच्ची सडक पार गर्दै सिमल चौर श्यामपाटी गाविसमा पर्ने यस क्षेत्रसम्म पुग्न गाडीमा झण्डै तीस मिनेट लाग्दछ । पैदल गर्नेहरु एक घण्टामा आरामले पुग्न सक्छन् । जिल्लाको बौद्धमार्गिहरुको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयंभु र नमोबुद्ध) मध्ये एक हो नमो बुद्ध ।  नमो बुद्धका दुइ खण्ड छन् । तल भञ्ज्याङको स्तुप सबैभन्दा पुरानो हो । त्यसभन्दा २०० मिटर माथि डाँडामा गुम्बा र बुद्धका ठूल–ठूला मूर्ति छन् ।  हावाले फर्फर गरिरहेका रंगीन धोजापतकाहरुले डाँडै झकिझकाउ देखिन्छ ।

डाँडाबाट मकालु, चोयु, गौरीशंकर, दोर्जे लाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमालहरु झलमल्ल देखिन्छ । त्यहाँबाट हरिया डाँडै डाँडा र सुन्दर बस्तीहरु देखिन्छ । पनौती, भक्तपुर, धुलिखेल र काठमाडौंका दृश्यहरु आँखामा आइपुग्छन् । उचाइमा भएकाले सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ ।

पाथीभरा


ललितपुरको लेलेमा रहेको पाथीभरा मन्दीर निकै प्रसिद्ध छ । मन्दिरमा पाथीभराको मूर्ति छ, शरिरमा रातो साडी, निधारमा रातो टीका, हातमा त्रिशुल र खड्ग, छातीमा चुराको माला लगाएर सिंहमा चढेकी ।

त्यहाँ पुग्दा घन्टको टङ् टङ् आवाजले कान पवित्र बनाइ दिन्छ । पाथीभराको मुख्य मूर्ति वरपर स–साना मूर्ति छन् । पाथिभराबाट आँखा डुलाउँदा चारैतिर हरिया डाँडाको लस्कर देखिन्छ । कुनै ठूला, कुनै साना । डाँडाका बीच बीचमा देखिने केहि घरहरु । मन्दिर क्षेत्रमा चल्ने सिरसिरे बतासले शरिरमा उर्जा भर्छ ।

हरियालीमा आँखा डुलाउँदै चराको चिरविर सुन्दै, गाउँले जनजिवन बुझ्दै, प्रकृतिमा फलेका फल चाख्दै हिँड्दा स्फूर्ति मिल्छ । यो धार्मिक स्थल हो । यस मन्दिरमा पुजाआजा गर्नेको बाक्लो भिड लाग्छ ।   

चम्पादेवी

फर्पिङको जंगलै–जंगल तीन–चार घण्टा उकालो हिँडेपछि चम्पादेवी पुग्न सकिन्छ । टुप्पोमा पुगेपछि अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल हिमाल तथा सगरमाथालाई नजिकैबाट नियाल्न सकिन्छ ।

चम्पादेवीमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरू पूजाआजा गर्ने गरेका छन् ।  
ककनी
ककनी पिकनिकका लागि चर्चित स्थान हो । पछिल्लो समय हाइकिङको लागि ककनी निकै चर्चित बनेको छ । २ हजार ७३ मिटर उचाइमा रहेको ककनी गाडीमा पनि जान सकिन्छ । ककनीबाट ३ घन्टाको पदयात्रापछि गुर्जेभञ्ज्याङ पुगिन्छ । यहाँबाट मुस्कुराइरहेका हिमाल विचरण गर्न सकिन्छ । 

शिवपुरी–बुढानीलकण्ठ

शिवपुरीे काठमाडौं नजिकको दोस्रो उच्च पहाडी क्षेत्र हो । शिवपुरी क्षेत्र बागमतीको उद्गमस्थल पनि हो । शिवपुरी संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ जंगल बढी छ । पाँच घन्टामा यो रुट पार गर्न सकिन्छ । यो क्षेत्रमा गुम्बा, ५ सयभन्दा बढी प्रजातिका चराचुरुंगी आदि छन् । साथीसङ्गी मिलेर घुम्न गएमा यहाँ बडो आनन्द हुने स्थान छ । 

हाइकिङ गर्दा लैजानैपर्ने सामानहरु
हुनतः आफु जुन अवस्थामा हुन्छ, त्यसै अवस्थाबाट पनि हाइकिङ जान सकिन्छ । तर बिना तयारी यात्रा तय गर्दा विभिन्न कठिनाइहरु आउन सक्छ । त्यसैले हाइकिङलाई सहज बनाउने हो भने यि कुराहरुमा ध्यान दिनुपर्छ ।

हाईकिङ जाँदा ध्यान दिनुपर्ने कुरा 

  • एक्लै हाइकिङमा नजाने । 
  • समय ‘क्यालकुलेट’ गरेर हिँडने ।
  • संकेत दिएको स्थानबाट मात्र यात्रा गर्ने । 
  • एक्लै अथवा समूह भएपनि घना जंगलतिर नजाने । 
  • फोन सम्पर्कमा रहीरहने । 
  • अनुशासित भएर यात्रा गर्ने । 
  • स्थानीय संस्कृति, जीवनशैली र गाउँलेको सम्मान गर्ने । 
  • धार्मिक संस्थामा अनुमति लिएर मात्र जाने । 
  • ठूलो स्वरले नकराउने (चर्को रुपमा होहल्ला नगर्ने)
  • पशुपंछीलाई नजिस्क्याउने । 
  • जथाभावि फोहोर नफयाँक्ने ।
  • बिस्तारै आराम गर्दै पानी खाँदै हिँड्ने । नकुद्ने । 
  • रिंगटा, थकाई लागे केहि समय आराम गर्ने । 
  • आफू सुस्ताएको ठाउँमा सामान छुट्ला कि भनेर होसियारी अपनाउने । 
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?