काठमाडाैं । नेपाली ऐतिहासिक चलचित्र नालापानीको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी चलचित्र नालापानीको ट्रेलर सार्वजनिक गरिएको हो ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को ट्रेलरमा देख्न सकिन्छ । बिहीवार ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई देखाइएको छ ।
२ मिनेट ४१ सेकेण्ड लम्बाईको ट्रेलरमा अंग्रेजसँगको लडाईंको क्रममा देखाईएका दृश्य वास्तविक लाग्छन् । ट्रेलर हेर्दा घमासान युद्ध र ऐतिहासिक कथावस्तुमा बनेका फिल्म मन पराउने दर्शकलाई ‘नालापानी’ले आकर्षित गर्नसक्ने देखिन्छ । तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गरेका छन् ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए । फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ–संस्था तथा राज्यसँग अपिल गरे । उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे ।
उनले भने, ‘९ वर्षको अन्तरालमा बल्ल चलचित्र रिलिजको संघारमा आएको छ । सोलो रिलिजको कुरा आयो, मलाई नै अचम्म लागिरहेको छ । चलचित्र जुन जुधिरहेको छ, उहाँहरुले नालापानीलाई सामान्य ठान्नुभएको छ कि, यसको वेट नबुझ्नुभएको हो कि ? यो उहाँहरुको पनि चलचित्र हो, किन जुधाइरहनुभएको छ मैले भन्दा पनि सरकार, संघका अध्यक्षहरुले राख्नुपर्छ ।’
कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलरका दृश्यहरु हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडाईँ लडिरहेको हो की भन्ने महशुस भएको बताए । उनले राज्यले समेत विशेष चलचित्र भनेर उद्घोष गरिसकेको चलचित्रलाई एक हप्ता सोलोरुपमा चल्न दिनुपर्ने बताउँदै आफ्नो भुगोल, संस्कृति, नेपाल र नेपालीलाई बचाउनको निम्ति वीर शहीदहरुले कुन हदसम्म लडाईं लडेका रहछन् भन्नेकुरा नालापानी चलचित्रबाट अहिलेको पुस्ताले पाठ सिक्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए । उनले चलचित्रलाई चलचित्र विकास बोर्डले मात्रै नभइ सिंगो चलचित्रकर्मीहरुले सहयोग गर्नुपर्ने बताए ।
चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया