हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ । दिनहुँजसो हजारौँले सहर छोडी घरगाउँतिर उक्लिरहेका छन् । वर्षौँदेखि घरदेश छोडी परदेशीएका युवाहरु पनि दसैँ मान्न घर फर्कने लर्को देखिन्छ ।
दसैँ आफैंमा एउटा धार्मिक महत्व बोकेको पर्व हो । साथै, सभ्यता, सद्भाव र संस्कृतिको जुनुन पनि । अनि परिवार, साथीभाई, आफन्तसँगको भेटघाट दुःख सुखको साटफेर गरेर सम्बन्धलाई नविकरण गर्ने पर्व हो ।
उसो त दसैँले गाउँघरलाई तन्नेरी बनाउँछ । लाहुरबाट फर्किएका लाहुरे, सहरबाट गाउँ गएको सहरियाले गाउँमा गुञ्जास छरिरहेका छन् । त्यसैको छेकोमा आउँदो निर्वाचनले पनि गाउँघरका दसैँ विशेष हुने पक्का छ ।
कस्तो जनप्रतिनिधि ल्याउने ? कसलाई भोट दिने ? जितेको जनप्रतिनिधिले ५ वर्षको अवधिमा के ग¥यो वा गर्न सकेन ? यस्तै–यस्तै विषय गाउँका युवाहरुको माझमा चल्ने बहस हो यो ।
देश बनेन भनेर यतिबेला युवाले मात्र होइन हरेक वर्गका मानिसहरुले आक्रोश छ । जसको कारण अघिल्ला निर्वाचनमा भन्दा अबको निर्वाचनमा उम्मेदवारले सोचेको जस्तो मत नपाउलान् कि भन्ने आशंका पनि छ । भर्खर सम्पन्न स्थानीय निर्वाचनको मत परिणामले पनि त्यसलाई पुष्टि गर्छ । स्थानीय निर्वाचनमा कुनै राजनीति दलको गढ मानिने स्थानीय निकायमा स्वतन्त्रको जितसँगै त्यसले मतदाताहरु विवेकशील भइसके भन्ने ठम्याउन कुनै गाह्रो नपर्ला ।
यसअघिका निर्वाचनमा जस्तो आम नागरिक परिवारिक विरासतको आधारमा मात्र मत हाल्दैनन् । यसअघिका निर्वाचनहरुमा एक गाउँको भोट एकै पार्टीमा वा एकै नेतामा जाने गरेकोमा अब एकै घरको भोट समेत फरक–फरक व्यक्ति र पार्टीलाई जाने गरेका उदाहरण छन् । यसको मुख्य कारण हो, आन्तरिक छलफल र मतदाता शिक्षा ।
हो, आगामी निर्वाचनका बारेमा पनि छलफलको माध्यम बन्नेछ सम्मुखको दसैँ । पार्टीलाई जिताउन होस् या मतदाता रिझाउन नेताहरुसमेत आफ्नै घरगाउँमा दसैँ मान्न पुगेका छन् । जसले नेताहरुलाई निर्वाचन लागेको छनक पाउन सकिन्छ ।
धेरै युवाहरुको वर्तमान राजनीतिक दल र दलका नेताहरुको चरित्रप्रति आक्रोश छ । जसको कारण प्रत्येक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुको उदय भएको छ । त्यसो त स्थानीय निर्वाचनको मत परिणामले पनि त्यसलाई थप मलजल गरेको छ ।
विदेशबाट पढेर वा श्रम गरेर आएकाहरु वर्तमानमा हालीमुहाली गरिरहेका पुराना राजनीतिक दलसँग सन्तुष्ट छैनन्, जसकारण पनि उनीहरुको मत अघिल्ला निर्वाचनमा भन्दा फेरबदल हुने देखिन्छ ।
दसैँ र निर्वाचनको माहोलसँगै परेका कारण पनि वैदेशिक रोजगारीबाट घर फर्किएकाहरु धेरैले मौकाले यसपटक मतदानको अवसर पाउनेछन् । सरकारले लामो समयदेखि विदेशमा रहेका आफ्ना नागरिकहरुलाई मतदानको अवसर दिने भन्दै चुनावी नारा बनाए पनि नारामा मात्रै सिमित रहेको अवस्थामा यस पटकको चाडपर्वको मेलोले धेरै युवायुवतीहरुले सो अवसर प्राप्त गर्नेछन् ।
नेपालीहरुलाई दसैँ, निर्वाचनले मात्र छोपेको छैन । दसैँ र निर्वाचनको माहोलमै ‘मानो रोपेर मुरी फलाउने’ अर्थात् बाली भित्र्याउने चटारोको बेलासमेत यही समय परेको छ । यसपालीको धान भित्र्याउने खेत–खेतमा राजनीतिक बहसले स्थान पाउने देखिन्छ ।
निर्वाचन आयोगले आगामी निर्वाचनको लागि असोज २३ गते मनोनयनको मिति तोकिदिएको छ । जसकारण पनि यतिबेला जिल्ला–जिल्लाबाट सिफारिसमा परेका नेताहरु केन्द्रतिर धाउन थालेका छन् । असोज २३ गते दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन हो ।
जुनदिनबाट दसैँकाे विधिवत रुपमा विसर्जन गरिन्छ सोही दिनबाट नै निर्वाचनको विधिवत सुरुवात हुन्छ । अर्थात् सोही दिन निर्वाचनका प्रत्यक्ष उम्मेदवारहरुले मनोनयन गर्ने मिति तोकिएको छ । निर्वाचनमा मनोनयन भएपछि मात्रै आधिकारिक रुपमा को चुनाव लड्ने भन्ने पक्का हुन्छ ।
त्यसअघि सिफारिस परेकामध्ये हरेक राजनीतिक दलले उपयुक्त पात्र छनोट गर्ने गर्दछन् । अन्य समयमा नेता कार्यकर्ताहरु भेटघाटका लागि मात्रै जाने गरे पनि मनोनयनपछि भने भोट माग्नै जाने गर्दछन् ।
यसरी दसैँ सकिएको र तिहारको पर्खाइमा रहेका नेपालीजनलाई खेतीपातीको चटारोले छपक्कै छोप्न थाल्छ । कात्तिक १० गते तिहारको भाइटिकाको तयारीसँगै नेपालीहरुमा चुनावले छोपिसकेको हुन्छ ।
किसानहरु खेतमा धान भित्र्याउन जाँदा नेताहरु भोट माग्न त्यहीँ जाने दृश्य देखिनेछ । अहिले मात्रै होइन, २०७० र २०७४ को निर्वाचन समेत मंसिरमै भएको थियो । दुवै निर्वाचनमा नेता किसानहरु खेतीपातीमा व्यस्त हुँदा नेताहरु भोटको खेतीपाती गर्नका लागि खेतमै पुग्छन् ।
विडम्बना भन्नुपर्छ, गत असारमा खेतीपाती लगाएपछि किसानहरुले मल पाएनन् । जसोतसो मलको जोहो गरेर खेति भित्र्याउने बेला भएपछि त्यहि खेतमा भोट माग्दै नेताहरु पुग्दैछन् । निर्वाचनमा नेताका लागि जनता भगवानसरह हुन् । असारमा मल नपाएका किसानहरुलाई खेतमा पुगेर नेताले के आश्वासन दिएर भोट माग्छन् हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया