घरको छतबाट चङ्गा उडाएको सधैँ याद आउँछ : पारस खड्का

काठमाडौं । खेलाडीहरुले चाडपर्व खासै राम्रोसँग मनाउन पाउदैनन् ।

चाडपर्वकै बेला खेलाडीहरु अन्तर्राष्ट्रिय भुमिमा खेल खेलिरहेका हुन्छन् ।  खेलाडीहरुले प्रतियोगितामा कसरी उत्कृष्ट प्रर्दशन गर्ने, कसरी नेपाललाई विजेता बनाउने भन्ने ध्यान दिदा चाडपर्व मनाउन नै बिर्सन्छन् ।

चाडपर्वमा परिवारसँग बसेर दशैं मनाउन नपाउने खेलाडीको गुनासो पनि नआएका भने पक्कै होइनन् । ठूला तथा महत्वपूर्ण प्रतियोगिताकै बेला चाडपर्व पर्दा खेलाडीहरुको मन खिन्न हुनु स्वभाविकै हो । तर, देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मैदानमा खेल्न पाउदा उनीहरुले चाडपर्व नै भुल्छन् ।

नेपाली खेलाडीहरुले चाडपर्वलाई भन्दा पनि खेललाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् ।  भर्खरै मात्र नेपाली क्रिकेटले मलेसियामा सम्पन्न 'आइसीसी' विश्वकप टि-२० एशिया क्वालिफायरमा विजेता बन्दै एशिया छनोटमा प्रवेश गरेको  छ ।

हाल नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिताको कुनै खेल तालिका छैन । संयोगवश यो पटक भने नेपाली क्रिकेट खेलाडीहरुले पनि धुमधामको साथ दशैं मनाउने भएका छन् । नेपाललाई एक दिवसीय ‘ओडीआई’सम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान पारस खड्का सामान्य तरिकाले नै दशैं मनाउने बताउँछन् ।

‘दशैं मनाउने तरिका आ-आफ्नो हुन्छ, मैले पनि अरुले मनाए जसरी नै मनाउने हुँ, दशैंको बेला कुनै अन्तर्राष्ट्रिय खेल तालिका छैन, हाल पोखरा प्रिमियर लिग मात्र छ ’ उनले भने । 

 

साथै, उनले दशैंको बेला साथीभाइ र परिवारसँग बसेर गेट टुगेदर गर्ने पनि बताए । ‘‘सानो बेलामा धेरै नै चङ्गा उडाइन्थ्यो, मेरो पिङ खेल्नुमा चाहिँ खासै लगाव थिएन, त्यतिबेला धेरै खुला ठाउँहरु थिए तर, अहिले चङगा उडाउने र पिङ थाप्ने ठाँउ नै छैन, सानो बेलामा घरको छतबाट चङगा उडाएको अहिले पनि याद आउँछ’ उनले थपे । 

कप्तान खड्काले लोकपथलाई भने, ‘मेरो मामाघर घरबाट नजिकै पर्छ, मामाको हातबाट टिका थाप्न पनि जान्छु, दशैंमा सकेसम्म साइत पारेर टीका लगाउने योजना छ । समय मिलेन भने जुन बेला टीका लगाउँदा पनि त भयो नि’

‘बिगतका बर्षहरुमा पनि दशैंलाई रमाइलोसँग नै मान्ने गर्थे, अन्तर्राष्ट्रिय खेल, टुर हुँदा मात्र दशैं मनाउन नपाउने हो, त्यतिबेला भने परिवार धेरै नै सम्झिन्थे, सबैले आफ्नो गक्ष अनुसार दशैं मनाउने हो, अरुको देखासिकी गरेर दशैं नमनाउनुस, जसको क्षमता जति छ त्यहि तरिकाले मनाउँदा उत्तम हुन्छ’  उनले थपे । 

कप्तान खड्काले दशैं लगतै पोखरा प्रिमियर लिग ‘पिपिएल’को शुरु हुने भएकाले पनि तयारीमा लाग्ने पनि बताए । 

शनिवार मात्रै स्वदेश फर्किएको नेपालले विश्व टी-२० एशिया क्वालिफायर खेलमा अपराजित रहँदै समूह ‘बी’को विजेता बन्दै उपाधि जितेको थियो । 

सिंगापुरविरुद्ध खेलका दौरान वर्षा भएपछि नेपालले रनरेटको आधारबाट उपाधि आफ्नो पोल्टमा पारेको थियो ।

६ खेलमा नेपालले ५ मा जित र १ बराबरी गरेको थियो । प्रतियोगितामा नेपालले म्यानमार र मलेसियालाई ८ विकेटले, थाइल्यान्डलाई १ सय ४० रनले, भुटानलाई १ सय १७ रनले तथा चीनलाई १० विकेटले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?