दसैँ आयो, खाउँला पिउँला

दसैँ आयो,
खाउँला पिउँला,
कहाँ जाउँला,
चोरी ल्याउँला,
धत्त् पापी,
म त छुट्टै बसुँला

कान्छी औँलामा दसैँको उत्साह छ । उसले भन्छ– दसैँ आयो ।

काइँली औैँला पनि प्रफुल्लित भएर भन्छ– खाउँला, पिउँला ।

गरिबीको चरम अभावमा डुबेको साइली औँला भन्छ– कहाँबाट ल्याउँला ।

माइली औँलाले ‘चोरी ल्याऊँला’ भनि चोर प्रवृत्ति देखाउँछ भने बुढी औँलाले ‘धत्त पापी म त एक्लै बसूँला’ भनी दसैँमा न चोर्ने न देखासिकी गर्ने, बरु आफ्नो हैसियतमा कसैसँग प्रतिस्पर्धा नगरी एक्लै मनाउने अभिव्यक्त गरेको छ ।

बुढी औँलाजस्तै प्रकाशस्ता धेरै परिवारले आफ्नो हैसियतमा कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो परिवारसँग हाँसीखुसी मनाउन जरुरी देखिन्छ ।

हाम्रो पर्व सबैले मनाउनुपर्छ । प्रतिस्पर्धाभन्दा पनि यसलाई आपसी सद्भाव र सहकार्यको रुपमा विकास गर्दै जाऔँ ।

नेपालीहरुको महान चाड दसैँ र तिहार नजिकिने क्रमसँगै नेपाली समाजमा यस्ता लोकयुक्ति बुढापाकाको मुखबाट निस्कन थाल्छन् ।

यस्ता पौराणिक लोकयुक्तिलाई नबुझ्नेहरुले रमाइलोका रुपमा ग्रहण गर्छन्, तर बुझ्नेहरुले यसभित्रका गम्भीर विषयवस्तुलाई सुक्ष्म ढंगले अध्ययन तथा अनुशरण गरी व्यवहारमा उतार्छन् ।

दसैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान चाड हो । किनकि दसैँको दिन एकसरो कपडा भए पनि राम्रो र नयाँ लुगा लगाउने तथा मिठो खाने प्रचलन यथावत छ ।

त्यसकारण दसैँ र तिहारलाई अन्य चाडपर्वको भन्दा बढी महत्व दिइएको पाइन्छ । संस्कृति विद्हरु भन्छन्, ‘अझै पनि दुर्गम ग्रामीण क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका लागि दसैँ आउनु नै खान पिउनकै लागि हो ।’

यसैमा चोरेरै भए पनि मीठो खानुपर्छ, नयाँ लगाउनुपर्छ भन्ने कुरा उल्लेखित लोकयुक्तिबाट प्रष्ट हुन्छ । प्राचीन कालमा चोरेर ल्याएर भए पनि वर्षमा एकपटक आउने दसैँ राम्रोसँग मनाउनुपर्छ भन्ने भ्रम आम सर्वसाधारणमा थियो ।

तर, त्यो भ्रम ग्रामीण बस्तीबाट बिस्तारै हट्दै गए पनि सहरी क्षेत्रमा भने फस्टाउँदै गएको छ । ग्रामीण क्षेत्रमा चोरी गरी दसैँ मनाउनुपर्ने अवस्था छैन । दसैँ ऋण जोहो गरेर भए पनि मनाउनुपर्छ भन्ने विश्वास बढ्दै गएको छ ।

लोकयुक्तिले भनेझैँ छरछिमेकहरुबीच दसैँ मनाउन चोरी गर्नैपर्ने, चोरी गरि दसैँ मनाउँदा कसैलाई दुःख हुने भएकाले चोरलाई पापीको दर्जा दिने, कोही कसैले धत् पापी भन्दै चोरी गरेर दशै मनाउने छिमेकीबाट छुट्टै बस्न खोज्न थालेपछि ग्रामीण बस्तीबाट यस्तो परम्परा हराउन थालेको हो ।

हातको औँला भाँची भाँची गाउँघरमा सुनाइने यस्ता लोकयुक्ति बढ्दो सहरीकरणसँगै सहरमा हाबी हुन थालेको छ । छर–छिमेकको देखासिखीमा लागेर तडकभडकका साथ दसैँ मनाउने चलनसँगै चोरेरै भएपनि दसैँ मनाउनेहरुको जमात बढ्दो छ ।

विगतमा सामान्य तरिकाले दसैँ मनाउने प्रचलनमा परिवर्तन आएको छ । चाडबाडहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । दसैँमा फर्सी, काँक्रो, तरकारी, सुन्तला लगायतका फलफूल चोरी खानुलाई शुभ मानिन्थ्यो ।

ग्रामीण क्षेत्रबाट यस्ता प्रचलन हराइसकेका छन् । ग्रामीण क्षेत्रमा सक्रिय चोरहरु शहर पसेसँगै दसैँका नाममा ग्रामीण क्षेत्रमा हुने रमाइला परम्परा हराएका छन् ।

चाडपर्वहरु दिनप्रति दिन महँगो बन्दै गएका छन् । अर्काको देखासिखी र तडकभडक गरी मनाइने चाडपर्वहरु न्यून आयस्रोत भएका निम्न वर्गका लागि दसैँ नभएर दशा बन्ने गरेको छ । भगवान भक्तिका नाममा बली चढाउनैपर्ने, माछा मासु खानुपर्ने, मीठो तथा नयाँ लुगा खरिद गर्नैपर्ने बाध्यताहरु नेपाली समाजका लागि जटिल बन्दै गएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?