कहाँ गए लिङ्गे पिङ, कता बिलाए सरर..चाचाहुइया ?

सररर…चाचा हुइया….। गाउँघर, सहरबजारमा दसैँ आएको छनक दिने र लिंगेपिङ मच्चाउँदा निस्कने आवाज हो, यो । वर्षमा एकपटक धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन हो ।

आकाश चुम्ने लिङ्गे पिङको टुप्पो कटाउन मच्ची–मच्ची खेलिरहेको दृश्यले मात्र दसैँलाई निम्तो दिएजस्तो लाग्छ । यही निम्तो पाएपछि मात्रै दसैँ पनि टुप्लुक्क हाम्रो दैलोमा आइपुग्छ । यद्यपि, पछिल्लो समय पिङ खेल्ने परम्परा आंशिक रुपमा ओझेलमा पर्दै गएको छनक देखिन्छ ।

नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो, ‘पिङ’ । दसैँमा पिङ खेल्ने परम्परा पनि यसै अन्तर्गत नै सुरु भएको मान्न सकिन्छ ।

जे होस् दसैँमा पिङको रौनक नै छुट्टै । पिङ र दसँै एकअर्काका पर्याय भैसके । दसैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका पिङले नै खेलेको हुन्छ । दसैँमा पिङ खेल्नैपर्ने परम्परा ठ्याक्कै कहिले, कहाँ र कसरी सुरु भयो भन्न नसकिएतापनि यसको इतिहास निकै लामो छ । जबदेखि दसैँ मनाउन थालियो पिङ खेल्न पनि उही बेलादेखि नै सुरु गरिएको भन्ने विश्वास छ ।

लिङ्गे पिङ हाल्नका लागि बाँस, लठारो, काम्रो, काठलगायतको आवश्यकता पर्छ । विशेषगरी गाउँघरतिर साझा चौर, पिपलको रुख वा कुनै मन्दिरको प्राङ्गणमा सबैजना मिलेर पिङ हालिन्छ । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्त्वलाई संस्कृतिले नै जगेर्ना गरेको छ ।

लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार पारिन्छ । र, शिरमा सयपत्री, लालुपाते जस्ता फूलहरु राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्छ । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरुले पिङ खेल्ने चलन भएतापनि युवा वर्गहरु पिङ खेल्नमा बढी नै उत्साहित हुन्छन् ।
त्यस्तै रोटे पिङ बनाउन अलिक बढी मिहिनेत, जनशक्ति र खर्च लाग्ने भएकाले यसको त झनै लोप हुँदै गएको छ । अहिलेजस्तो, फलाम र अन्य आधुनिक सामाग्री प्रयोग गरेर भन्दा पनि काठ, डोरी जस्ता स्थानीय वस्तुहरु प्रयोग गरेर बनाइने रोटे पिङमा एकैसाथ धेरैजना मानिसहरुले खेल्न पाउँछन् । यद्यपि, पछिल्लो समय पिङप्रति आममानिसको चासो त्यतिसारो देखिँदैन । उसो त गाउँघरदेखि सहरबजारसम्म पिङ देखिँदैनन् । अनि, हिजो कानमा ठोक्किने सरर…चाचाहुइयाका आवाजहरु पनि बिलिन हुन पुगेका छन् ।

किन हराउँदै छ पिङ संस्कृति ?

लिङ्गे पिङ, रोटे पिङ बनाउनलाई खुल्ला ठाउँको आवश्यकता पर्छ । साथै पर्याप्त समयको पनि । तर, बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन र पर्याप्त समयको अभाव भएकाले पनि दसैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको तितो सत्य हो ।

अझै गाउँघरको कुरा गर्ने हो भने गाउँ आजकाल सुनसान छ । ग्रामीण भेगमा मानिसहरुको बसोबास पातलिँदै गएको छ । गाउँका सक्रिय जनशक्ति नै रोजगारका लागि विदेश पलायन भएपछि पिङ लगाउने को ? खेलिदिने को ? वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरुले एकाएक ‘हवाइजहाज’को उडान भर्न थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो ।

फेरि, पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरु समयमै उपलब्ध नहुने र ती सामाग्रीहरु प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यार लाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको कतिपय युवाको गुनासो छ ।

त्यस्तै, मानवजीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषीको संज्ञा दिन सकिन्छ । प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरुलाई । अहिलेका सोखिन मानिसहरु चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् ।
दसैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ । यसरी दसैँ सामूहिक पर्व भन्दा पनि ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोपान्मुख हुँदै जानु स्वभाविक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?